• ३ जेठ २०८१, बिहिबार

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

blog

सुक्दै चैते धान । फाइल तस्बिर

बेलबारी (मोरङ), वैशाख १७ गते । लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको हो । बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो । अन्न भण्डारको रूपमा मानिने मोरङमा यस वर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । 

गत वर्षभन्दा यस वर्ष दुई सय हेक्टर बढीमा चैते धान रोपिए पनि समयमा पानी नपर्दा किसान चिन्तित रहेको प्रमुख सिंहले बताउनुभयो । “जिल्लाको १७ वटा पालिकामध्ये सुन्दरहरैँचा, बेलबारी, पथरी सनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेष गरी चैते धानको खेती गर्ने गरेका छन्”, उहाँले भन्नुभयो । गत वर्ष मौसमले राम्रो साथ दिएका कारण मोरङमा प्रति हेक्टर पाँच दशमलव छ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

“खोला एवम् पानी भएको र बोरिङ गरिएको ठाउँमा लगाइएको धान हरियो भयो, सिँचाइको पहुँच नभएको ठाउँमा लगानी पनि नउठ्ने भयो” बेलबारी ११ की किसान मैनादेवी न्यौपानेले भन्नुभयो । यस क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत धानबाली रहेकाले सिँचाइको पहुँच नपुग्ने ठाउँका किसानलाई सरकारले बोरिङको माध्यमबाट भएपनि सिँचाइ व्यवस्था मिलाउनुपर्ने माग किसानको छ । यसका लागि स्थानीय सरकारले पहल गरिरहेको बेलबारी–९ का वडाध्यक्ष शालिग्राम बस्नेतले बताउनुभयो । रासस