• २ जेठ २०८१, बुधबार

सदस्यता शुद्धीकरण टुङ्ग्याउन ध्यानाकर्षण

blog

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको ११ औं साधारणसभाका अतिथिहरु । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख १७ गते ।
शुद्धीकरण तथा नयाँ सदस्यता टुङ्गो नलागेकाले अन्योलता सिर्जना भएकोभन्दै नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले केन्द्र र प्रदेश समितिको ध्यानाकर्षण गरेको छ । नयाँ नेतृत्व चयन गर्ने समय नजिकिँदै गएकोबेला सदस्यताको विषय नटुङ्ग्याउँदा अन्योलता बढेको भन्दै शाखाले महासङ्घको केन्द्र र प्रदेश समितिको ध्यानाकर्षण गराएको हो ।

महासङ्घ जिल्ला शाखाको ११ औं साधारणसभा सदरमुकाम फुङ्लिङमा आइतबार सम्पन्न भएको छ । साधारणसभाले सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यताको विषय तत्काल टुङ्गो लगाई साङ्गठनिक अन्योलता अन्त्य गर्न केन्द्रीय र कोशी प्रदेश समितिको ध्यानाकर्षण गर्ने निर्णय गरेको शाखा अध्यक्ष आनन्द गौतमले बताउनुभयो ।

केन्द्र, प्रदेश र जिल्ला शाखाको नयाँ नेतृत्व चयन गर्ने निर्वाचनको संघारमा पुगिसक्दा पनि सदस्यताको विषय टुङ्गो नलाग्दा अन्योलता सिर्जना गराएको साधारणसभाको निष्कर्ष भएको शाखा अध्यक्ष गौतमले बताउनुभयो । अन्योलताकै बिच शाखाको साधारणसभा सम्पन्न गरेको उहाँको भनाइ छ ।

साधारणसभाका केन्द्रीय प्रतिनिधि, महासङ्घका पूर्व केन्द्रीय सदस्य उद्धव तिमल्सिना सिमित नेतृत्वका कारण सदस्यताको विषय हालसम्म टुङ्गो लाग्न नसकेको बताउनुभयो । पत्रकारका बैचारिक सङ्घ सङ्गठनमा रहेको स्वार्थले महासङ्घलाई प्रत्यक्ष प्रभाव पार्ने गरेका कारण पनि शुद्धीकरण र सदस्यता टुङ्ग्याउनमा समस्या देखिएको तिमल्सिनाको भनाइ थियो ।

यस्तै, प्रदेश प्रतिनिधि माला पालुङ्वाले प्रदेश समितिका तर्फबाट समयमै सदस्यता सिफारिस गरिएको भए पनि केन्द्रले टुङ्गो नलगाउँदा हाल अन्योलता उत्पन्न भएको बताउनुभयो । सदस्यता शुद्धीकरण र नयाँ सदस्यताको विषय टुङ्ग्याउने जिम्मा केन्द्रीय समितिकै भएको उहाँले बताउनुभयो । शाखा सचिव सुवास आचार्य र कोषाध्यक्ष मदन गौतमले प्रस्तुत गर्नुभएको साङ्गठानिक तथा आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।