• ८ जेठ २०८१, मङ्गलबार

बाह्रबर्से नाचमा सेन राजाका कथा

blog

मकवानपुरको थाहा नगरपालिका–१ स्थित गोपाली बस्ती कुन्छालमा बाह्रबर्से नाच ।

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख १६ गते । बोका र राँगाको बलिसहित तान्त्रिक विधिपूर्वक पूजाआजा गरी गोपाली बस्ती कुन्छालमा १२ बर्से नाच सम्पन्न गरिएको छ । शनिबार नाच सकिएपछि आइतबार कुन्छाल गाउँमा नाचमा सहभागी कलाकार, गुरुलगायत सहयोगी र गाउँलेको सहभागितामा विशेष भोज लगाइने गरिन्छ । शनिबार दुई वटा बोका र एउटा राँगाको बलि दिएर प्रसाद वितरण गरिएको थियो ।

गोपालवंशीको इतिहास बोकेको १२ बर्से नाचका क्रममा देवीको नाच प्रदर्शन गरिने प्रचलन रहेको छ । कुन्छाल नाच व्यवस्थापन समितिका सदस्य रूपचन्द्र गोपालीका अनुसार बाह्रवर्षे नाचको पूजाआजासहित तान्त्रिक विधिबाट साँगे गरी प्रसाद वितरण गरिएको छ । बाह्रवर्षे नाच ग्वाला (गोपाली) को पुरानो बस्ती कुन्छालको ऐतिहासिक नाच हो । संयोगान्त र वियोगान्त दुवै कथामा आधारित नाच प्रदर्शन गरिन्छ । १२ वटा डबली (खट) मा प्रदर्शन गरिने यो नाच प्रदर्शनीको तयारी छ महिनाअघिदेखि गरिन्छ ।

यसअघि कुन्छालस्थित गोपाली बस्तीका डबलीमा बिहीबार र शुक्रबार नाच देखाइएको थियो । दुवै दिन राति ८ बजेबाट ११–११ घण्टा गरी २२ घण्टा सेन राजाहरू कामसेन र चन्द्रसेनको कथामा आधारित नाच प्रदर्शन गरिएको थियो । 

मकवानपुरको थाहा नगरपालिका–१ का गाउँटोलमा यो नाच देखाइन्छ । १२ वटा खटमध्ये कुलगाउँ र टिस्टुङमा दुईबाहेक बाँकी सबै कुन्छालस्थित मूल डबलीमा नाच प्रदर्शन गर्ने गरिएको छ । यस पटकको बाह्रवर्षे नाच २०७९ फागुन १४ गतेबाट मूल खटबाट सुरु भएको थियो । 

अब १२ वर्षपछि नाच लाग्छ । नाच सुनागुठीमार्फत सञ्चालन हुने गरेको छ । गुठीमा परम्परागत रूपमा धामी, कजी, नाचमा संवादका लागि भाषागुरुलगायत व्यवस्था गरिएको हुन्छ । भाषागुरुले नाचको संवादको काम गर्ने, नाचको दुवैतर्फ राखेर मादल बजाउन सिकाउने, गीत, सङ्गीतसँगै कलाकारले आफ्नो भूमिका अनुसार नाच नाच्ने गर्छन् ।