• ३० वैशाख २०८१, आइतबार

अग्नी पीडितलाई राहत

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, वैशाख १६ गते । मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा वस्तीमा आगलागीबाट पीडित बनेका परिवारहरुलाई विभिन्न संघसंस्था तथा सहयोगी हातहरुले राहत सहयोग जारी राखेका छन् । राहत वितरणको क्रममा आईतबार मटिहानीमा रहेको नेपाल बैंक लिमिटेडले आगलागीबाट क्षति पुगेका १०३ परिवारलाई खाद्यान्न राहत स्वरुप वितरण गरेको छ । 

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, बैंकका शाखा प्रबन्धक प्रियंका ठाकुर, बैंकको जनकपुर शाखा प्रबन्धक गणेश कुमार खत्रीलगायतकाहरुले अग्नीपीडित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्नुभएको हो । 

आगलागी पीडितहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद मनीष झाले आफ्नो एक महिनाको सेवा सुविधा वापतको रकमबाट राहत वितरण गर्नुभएको हो । उहाँले राहतमा आगलागी पीडितहरुलाई कपडा तिवरण गर्नुभएको हो । आगलागीमा पीडितहरुको कपडा समेत जलेको कारणले कपडा राहत स्वरुप वितरण गर्नुभएको हो । 

त्यस्तै जिल्लाको लोहारपट्टी नगरपालिकाले आगलागी पीडित १०३ घरपरिवारहरुलाई खाद्यान्न सामग्री, भाडा, कपड़ा लगायतका राहत सामग्रीहरु वितरण गर्नुभएको छ । लोहारपट्टी नगरपालिका नगरप्रमुख शैलेन्द्र यादवले सो सामग्रीहरु घटनास्थल पुगेर पीडित परिवारलाई वितरण गर्नुभएको हो । 

शनिबार सशस्त्र प्रहरी परिवार महिला संघका केन्द्रिय अध्यक्ष अनिता लामिछाने, प्रतिनिधिसभा सदस्य चन्दा चौधरी, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र साह,  प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष प्रबदा सिंह शाहले संयुक्त रुपमा पीडित परिवारलाई राहत वितरण गर्नुभएको हो । अग्नीपीडित परिवारलाई सिरानी, कम्बल, पानीको बोतल, तौलिया, एक-एक थान तथा माक्स एक प्याकेट, स्टीलको थाल १० थान, कचौरा, ग्लास तथा चमचा दुई÷दुई थान तथा महिला र पुरुषहरुको लागि सफाई किट एक÷एक थान बितरण गरिएको छ । 

त्यसैगरी आगलागी भएको क्षेत्रमा दिसा, पिसाबलाई व्यवस्थित बनाउन शौचालय ब्यबस्थापनको लागि टॉयलेट प्यान, पाईप र एल्बो १०÷१० थान राहत स्वरुप मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई हस्तान्तरण गर्नुभएको जनाइएको छ । 

यसैबिच, आगलागी पीडितहरुमा आँखाको समस्या बढी देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि शनिबारदेखि शुरु भएको स्वास्थ्य शिविरमा चेकजाँच गराउन आएका अधिकाँश पीडितहरुमा आँखाको समस्या देखिएको उपचारमा खटिनुभएका डा.अदिती पंजियारले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा खटिनुभएका प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीका डा. पंजियारले शिविरमा चेकजाँच गराउन आएका दुई दर्जन बिरामीहरुमा आँखाको समस्या देखिएको बताउनुभयो । आगलागीपछि निस्केको धुँवा, बढदै गएको गर्मी तथा हावाको कारण उडेको बालुवाको कारणले अधिकाँशमा आँखाको समस्या देखिएको जानकारी दिनुभयो ।

महोत्तरी जिल्लाको गौशालामा आईतबार आगलागी हुदाँ दुई घर जलेको छ । गौशाला नगरपालिका २ कठुधार टोलमा आईतबार दिउँसो सद्दाम धोवीको घरमा आगलागी हुदाँ उनको दुई घर जलेको जनाइएको छ ।