• २७ वैशाख २०८१, बिहिबार

विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान रोहित

blog

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल

काठमाडौं, वैशाख १५ गते। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताउनुभएको छ।

शनिबार त्रिवीमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध कप्तानी इनिङ खेल्दै जित दिलाएपछि पत्रकार सम्मेलनमा रोहितले सो धारणा राख्नुभयो। आयरल्याण्डसँगको खेलबाट नै सबै खेलाडीमा राम्रो क्षमता देखिएको र सबैमा रिप्लेसमेन्ट गर्नसक्ने क्षमता रहेको रोहितले उल्लेख गर्नुभयो। 

त्यसैले ट्वान्टी–२० विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न चुनौती हुने उहाँको भनाइ छ। उहाँले क्षमतावान खेलाडी धेरै रहेको उल्लेख गर्दै समग्रमा सबैको प्रदर्शन राम्रो रहेको धारणा राख्नुभयो। तर आउने दिनमा जसले राम्रो गर्नसक्छ त्यहाँबाट उत्कृष्ट १५ खेलाडी विश्वकपका लागि छनोट हुने कप्तान रोहितको विश्वास छ।

आगामी १/२ खेलमा नै विश्वकपका लागि सबैको भूमिका तय हुने रोहितले बताउनुभयो। उहाँले शतकीय इनिङ खेल्छु नै भन्ने योजनामा नरहेको पनि उल्लेख गर्नुभयो। आफूले बलमा ध्यान दिँदै सोहीअनुरूप ब्याटिङ गरेको उहाँको भनाइ छ। तर रोहितले सोचेअनुरूप ब्याटिङ भएको बताउनुभयो।

कप्तान रोहितले प्रशिक्षक मोन्टी देसाईसँग एउटा खेलाडीले राम्रो गर्नसक्यो भने टोलीमा आत्मविश्वास बढ्छ भन्ने छलफल हुने गरेको बताउनुभयो। त्यसैले यो इनिङले टोलीमा आत्मविश्वास बढ्ने उहाँले आशा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, ‘ओमानसँगको खेलबाट निराश थियौं। त्यहाँबाट अगाडि बढ्नु आवश्यक थियो। त्यो खराब दिन सोचेको भए आजको प्रदर्शन सम्भव थिएन। सबैले आ आफ्नो जिम्मेवारी अनरूपमा गरेँ। त्रिवि २०० सयको रन चेज गर्न सकिन्छ भन्ने थियो, त्यही अनुरूप खेल्यौं।’

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले ओमान भ्रमण आशातित प्रदर्शन गर्न नसकिएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले लिने बताउनुभयो। तर आज रोहितले राम्रो प्रदर्शन गरेको प्रशिक्षक मोन्टीले बताउनुभयो। पछिल्लो १५ महिनामा रोहितको उत्कृष्टमध्ये एक प्रदर्शन गरेको प्रशिक्षकको बुझाइ छ। 

उहाँले एउटा खेलबाट कोही पनि राम्रो र नराम्रो भन्न नसकिने पनि स्पष्ट पार्नुभयो। प्रशिक्षक मोन्टीले वेस्ट इण्डिजसँगको यो खेलले नेपाली टोलीमा आत्मविश्वास बढाउने आशा व्यक्त गर्नुभयो। वेस्ट इण्डिजका प्रशिक्षक फ्लोयड रेइफरले आजको खेलमा राम्रो गर्न नसके पनि आगामी खेलमा राम्रो गर्न आशा व्यक्त गर्नुभयो। आफ्नो टोलीले राम्रो सुवात गरे पनि त्यसलाई सदुपयोग गर्न नसकेको उहाँको भनाइ छ।  

यो पनि पढ्नुहोस

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको शतक

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक