• २७ वैशाख २०८१, बिहिबार

अग्निपीडितका लागि २२ घर बन्ने

blog

सरकारी अनुदानमा बन्न लागेको बाहुसाहेव टोलको घरको नमुना । तस्विर सौजन्य : रङ्गेली नगरपालिका

हरि कोइराला
उर्लाबारी, वैशाख १५ गते । 
मोरङको रङ्गेली–३ स्थित बाबुसाहेव टोलको सन्थाल बस्तीका अग्निपीडितलाई नगरपालिकाले घर निर्माण गरिदिने भएको छ । बाबुसाहेव टोलमा गत चैत ३ गते आगलागी हुँदा टोलका २३ घर जलेर नष्ट भएका थिए ।

रङ्गेली नगरपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले २२ वटा घर बनाएर पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । अग्निपीडित प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि २०७७ अनुसार घर निर्माणको प्रक्रिया अघि बढाएको हो । अग्निपीडितले क्षति पुगेका निजी आवासको क्षति विवरण नगरपालिकामा पेस गरेपछि नगरले अग्निपीडितलाई पुनर्स्थापनाको प्रक्रिया अघि बढाएको थियो । कार्यविधिको दफा ३ बमोजिम लाभग्राही पहिचानको काम सकिएको वडाध्यक्ष भरत प्रसाईँले बताउनुभयो । पहिचान गर्ने क्रममा एक जना अग्निपीडितको अर्को स्थानमा पनि पक्की घर देखिएकाले अब २२ जना पीडितको घर मात्र बन्ने उहाँले बताउनुभयो ।

कुल ६ लाख ५५ हजार रुपियाँमा निर्माण हुने घरका लागि कोशी प्रदेश सरकारले ३० प्रतिशत खर्च व्योहोर्ने छ । यस्तै स्थानीय सरकारले १४ प्रतिशत खर्च व्योहोर्ने भएको छ भने सङ्घीय सरकारले ५५ प्रतिशत हुन आउने रकम तीन लाख ५५ हजार उपलब्ध गराउने छ । घर निर्माणका लागि डेमिडेनस र लुथरन वर्ल्ड फेडेरेसनले समेत सहयोग गर्ने भएका छन् । घरसँगै अलग्गै भान्छा कोठा, ट्युबवेल र शौचालय निर्माण हुनेछ ।

नगरपालिकाले बस्ती पुनर्निर्माणका लागि सर्वसाधारणसँग क्युआर कोड मार्फत सहयोग आह्वान गरेको थियो । हालसम्म क्युआर कोड मार्फत ६ लाख १५ हजार रुपियाँ नगद सङ्कलन भइसकेको छ । अग्नि पीडितहरूलाई वर्षायाम सुरु हुनु अगावै घर हस्तान्तरण हुने गरी काम गर्ने नगर प्रमुख दिलिपकुमर बगडियाले बताउनुभयो । बगडियाका अनुसार घामपानी छल्ने सम्मको घर असार मै बन्छ, बाँकी काम दसैँसम्ममा सक्ने गरी गरिने छ ।