• २७ वैशाख २०८१, बिहिबार

पुर्ख्यौली नाचमा रमाउँदै मगर समुदाय

blog

बेनी समाचारदाता

म्याग्दी (बेनी), वैशाख १५ गते । मगर जातिको कला संस्कृति संरक्षणको उद्देश्यसहित पुर्ख्यौली नाचका रूपमा रहेको मारुनी प्रतियोगिता आयोजना गरिएको छ । अन्नपूर्ण गाउँपालिकाद्वारा बिहीबारदेखि आयोजित सो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा आयोजित प्रतियोगितामा गाउँपालिकाका १२ समूहले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ६० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइमार्ने समूह, भाका तथा शब्द छनोट, पोसाक, अनुशासन जस्ता विधामा पुरस्कृत गरिने छ । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवकयुवती, बालबालिका र वृद्धवृद्धासमेतको उत्साहजनक सहभागिता रहेको छ । अन्नपूर्ण गाउँपालिका–२ का अध्यक्ष ओमप्रसाद फगामीका अनुसार मगर समुदायको मौलिक कला र संस्कृतिको प्रवर्धन र युवा पुस्तामा संस्कृति हस्तान्तरणका लागि परम्परागत नाच प्रतियोगिता गरिएको हो । मगर समुदायमा परम्परागत रूपमा चलिआएको पुख्र्यौली नाच लोप भएर जाने अवस्था भएपछि संस्कृति हस्तान्तरण गर्ने माध्यमका रूपमा पुख्र्यौली नाचको प्रतियोगिता आयोजना गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले लोकसंस्कृतिको संरक्षण र प्रवर्धन गरी पर्यटन विकासको आधार तयार पार्ने नीति लिइएको बताउनुभयो ।