• २२ वैशाख २०८१, शनिबार

डढेलोले जनजीवन प्रभावित

blog

सामुदायिक वनमा लागेको डढेलो निभाउँदै स्थानीयवासी । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, वैशाख १३ गते । सुक्खा खडेरीका कारण पाल्पा जिल्लाको विभिन्न स्थानमा लागेको डढेलोले जनजीवन प्रभावित बनाएको छ । गत वर्षको ५० भन्दा बढी स्थानमा डढेलो लागेको थियो भने यो वर्ष बढेर ८० भन्दा बढी स्थानमा डढेलो लागिसकेको छ । 

डढेलो नियन्त्रणको प्रयास सफल हुन नसक्दा मानिस त्रसित बन्नुपरेको छ भने एक महिनायता स्थानीयवासी, सुरक्षाकर्मीलगायत डढेलो निभाउन खटिएका छन् । लामो समयसम्म परेको खडेरी र हावाहुरीका कारण डढेलो लाग्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।

यस जिल्लाको सबैजसो पालिकाको सामुदायिक, निजी तथा सरकारी वनमा डढेलो लागेको डिभिजन प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसको सानो लापरबाहीले पनि वन जङ्गलमा डढेलो लागेको छ, डढेलो बस्तीमा पुग्न नदिने प्रयासले सास्ती पाएका छौँ ।” डढेलो बस्तीमा पस्न नसकोस् भनेर खट्दा उपभोक्ता, वनका कर्मचारी, सुरक्षा निकाय पनि वनमै बस्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । कतिपय स्थानमा एक सातासम्म पनि डढेलो निभाउन नसकेको वनका कर्मचारी बताउँछन् । जताततै डढेलो लाग्दा सुरक्षा निकायले समेत अनावश्यक सास्ती बेहोर्नुपरेको छ । 

दिनहुँजसो आगो निभाउने र उद्धार गर्ने कार्यमा खट्दै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई हैरानी भएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो ।

बारीको अनावश्यक झाडी जलाउँदा, वन्यजन्तुको आक्रमण रोक्न खोज्दा, चुरोट, बिँडी वनमा फ्याँक्दा, आगोको जथाभाबी प्रयोग गर्दा डढेलो बढेको भनाइ प्रजिअ काफ्लेको छ । डढेलो लगाउनेमाथि कडा निगरानी तथा कानुनी कारबाहीको तयारी गरिए पनि हालसम्म कोही पनि व्यक्ति पक्राउ नपरेको उहाँको भनाइ छ । यस्तै विद्युत् सर्ट हुँदा र व्यक्तिको घरगोठको आगो बाहिर फैलिँदा पनि डढेलो फैलिएको छ । पाल्पामा आगलागीमा परेर दुई जना मानिस घाइते भएका छन् । १० भन्दा बढी घर तथा गोठ जलेर नष्ट भएको छ । २० वटाभन्दा बढी पशु चौपायाको मृत्यु भएको छ । डिभिजन वन कार्यालयले डेढ महिनाको अवधिमा दुई हजार २१८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । यसबाट तानसेन नगरपालिकामा बढी प्रभावित भएको छ । 

तानसेनको २५ स्थान, तिनाउको १७, रामपुर नगरपालिकाको १०, रैनादेवी छहराको आठ, रिब्दीकोटको सात, पाँच स्थानमा डढेलो लागेको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिनुभयो । पाल्पामा आठ सय सामुदायिक वन छन् ।