• २२ वैशाख २०८१, शनिबार

तीन विद्यालयमा डिजिटल स्मार्ट बोर्ड

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख १३ गते । सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्रका तीनवटा विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान गरेको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट सुरुमा तीनवटा माध्यमिक विद्यालयमा एक-एक थान स्मार्ट बोर्ड जडान गरिएको हो । 

पहिलो चरणमा हरिवन–२, अत्रौलीमा रहेको रामअवतार माध्यमिक विद्यालय, हरिवन–८ पुरानो बजारमा रहेको महादेव जनता नमुना माध्यमिक विद्यालय र हरिवन–१०, सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान गरिएको हरिवन नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले जानकारी दिनुभयो । शिक्षा अधिकृत चौलागाईंका अनुसार यी स्मार्ट बोर्ड तत्काल माथिल्लो कक्षाका विद्यार्थीलाई अध्यापन गराउन प्रयोग गरिने छ । स्मार्ट बोर्डबाट लेखेका विषयवस्तु सेभ गर्न मिल्ने, भिडियो पनि देखाउन मिल्ने भएकाले निकै उपयोगी साबित हुने शाखा प्रमुख चौलागाईंले बताउनुभयो । 

उहाँले नगरका अन्य विद्यालयमा पनि क्रमैसँग डिजिटल स्मार्ट बोर्ड जडान गरेर पठपाठन गराउने उद्देश्य रहेको बताउनुभयो । डिजिटल स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको बुधबार महादेव जनता माध्यमिक विद्यालय पुरानो बजारमा नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ ।