• २२ वैशाख २०८१, शनिबार

नेपाललाई चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गरिने

blog

काठमाडौँ, वैशाख १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । 

उहाँले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था, सामुदायिक अस्पताल तथा सहकारी अस्पतालको क्षमता विकासमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा चुनौती देखिइरहेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन सरकारले पनि सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

उहाँले नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्र रहेको चर्चा गर्दै ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्य उपचारका लागि दक्ष चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्नुपर्ने भन्दै उहाँले सार्वजनिक स्वास्थ्य संस्था सबल र सुदृढ भए मात्र आमनेपालीले सर्वसुलभ स्वास्थ्य सेवा पाउने बताउनुभयो । सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै उहाँले स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्व पहिचानसहितको विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बिमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गरेर अनुकरणीय कार्य गरेको बताउनुभयो । उहाँले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । 

समारोहमा प्रतिष्ठानका सहकुलपति तथा उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पाटन अस्पतालको स्वास्थ्य सेवा गुणस्तरीय भएको बताउनुभयो । उहाँले कोभिड–१९ को महामारीमा समेत पाटन अस्पतालले प्रभावकारी सेवा उपलब्ध गराएको बताउनुभयो । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेश गङ्गोलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गुणस्तरीय उपचारसहित मेडिकल शिक्षासमेत गुणस्तरीय दिन सफल भएको बताउनुभयो । उहाँले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूल नारा भनेको दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उत्पादन भएका ४६५ जना विद्यार्थी दीक्षित भएका छन् । पाटनबाट विभिन्न विधामा स्नातक, स्नातकोत्तर अध्ययन पूरा गरेका विद्यार्थी हुन् ।