• २४ वैशाख २०८१, सोमबार

वालविवाह न्यूनीकरण गर्न बालबालिका सक्रिय

blog

चित्रकला निर्माण गर्दै बालबालिका । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, बैशाख १२ गते । मधेश प्रदेशका जिल्लामा वालविवाह बढेपछि न्यूनीकरण गर्न बालबालिकाहरु सक्रिय भएका छन् । प्लान इन्टरनेशनल नेपालले आसमान नेपाल र सिएफ डब्लुसँगको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा वालिका सम्मेलन तथा समाजमा रहेका कुरीतिलाई निरुत्साहित गर्ने किसिमले समेटेर तयार पारिएको चित्रकलाको प्रदर्शनी कार्यक्रम गरेर बालबालिकालाई सक्रिय बनाएका छन् ।

सानै उमेरमा विवाह गर्दा हुनेगरेको शारीरिक, मानसिक असर तथा अन्य प्रकारको समस्याको विषयमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको सम्मेलनका संयोजक एवम प्लानका अभियान प्रशासक लक्ष्मी चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत रहेका १३ वर्ष देखि २४ वर्षसम्मका वालवालिका तथा किशोरकिशोरीको सहभागिता थियो ।

वालविवाहलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालालाई राखेर नै कार्यक्रम गरेकाले वालविवाह न्यूनीकरण हुने आशा प्लानका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले जानकारी दिनुभयो । धनुषाका पाँच पालिकाका २० जना वालवालिकाले वालविवाह हुँदा हुने गरेको हिंसा तथा विभिन्न समस्याका विषयमा चित्र निर्माण गरिएको छ । 

धनुषाको शहिदनगर नगरपालिका निवासी कौशिला महराले वालविवाहपछि भोग्नुपरेको समस्याका विषयमा चित्रमार्फत प्रदर्शन गर्नुभएको थियो । धनुषाको कमला नगरपालिकाकी शोभा महतोले वालविवाह गर्न नहुने बताउनुभयो ।

जनकनन्दनी गाउँपालिकाकी प्रतिमाकुमारी मण्डलले वालविवाह गरेपछि विभिन्न प्रकारको हिंसामा पर्ने गरेको बताउदै आफूले वालविवाह नगर्ने र अरुलाई पनि गर्न नदिनका लागि प्रयास गर्ने बताउनुभयो ।