• २४ वैशाख २०८१, सोमबार

ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउनुपर्छ : मन्त्री चौधरी

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी ।

काठमाडौँ, वैशाख १२ गते। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उहाँले अहिले विस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताउनुभयो । 

मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि अन्य क्षेत्रमा भने त्यसरी वृद्धि हुन नसकेको बताउनुभयो ।

हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न समय लाग्ने गरेको बताउँदै उहाँले सात वटा मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताउनुभयो । 

मन्त्री चौधरीले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता,  स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताउनुभयो। 

नेपालमा पनि ऊर्जा बेचेर समृद्ध हुन सक्ने सम्भावना रहेको भन्दै उहाँले लगानी सम्मेलन देशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।

ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्नु आवश्यक रहेको भन्दै मन्त्री चौधरीले ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो ।

महिला इमानदार छन् भन्ने खालको छाप पनि रहेको दाबी गर्दै उहाँले ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता भित्र्याउनका लागि राज्यका तर्फबाट प्रोत्साहन गर्नु आवश्यक रहेको बताउनुभयो ।  

हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले र्‍यालीको उद्घाटन गर्नुभयो। आज बिहान इभी र्‍याली आयोजना गरी विद्युतीय सवारी प्रवर्द्धन र विद्युत् खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरुआत गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो ।