• २४ वैशाख २०८१, सोमबार

इस्माले अग्नि पीडित परिवारलाई एक लाख दिने

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १२ गते । गुल्मीको इस्मा गाउँपालिकाले अग्नि पीडितको घर निर्माणका लागि प्रति परिवार तत्काल एक लाख रुपियाँ उपलब्ध गराउने भएको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकबाट पालिकाभित्र आगलागीबाट पूर्णरुपमा क्षति पुगेका घरपरिवारलाई एक-एक लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।

गाउँपालिकाको विभिन्न स्थानमा गत शनिबार हावाहुरीसहित लागेको भीषण आगलागीबाट पालिकाभित्रका २६ घर र ४९ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट १९९ नागरिक प्रभावित भएका छन् । वर्षायाम सुरु हुन थालेकाले पीडित परिवारको घर निर्माणको लागि एक-एक लाख रुपियाँ गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । 

अग्नि पीडित परिवारको घर निर्माणको कार्य तत्कालै सुरु गरेर अन्य ठाउँबाट समेत स्रोत जुटाउन सबैको प्रयत्न जारी रहने अध्यक्ष खड्काले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा (मनसुन जन्य विपद्) मार्फत प्रति परिवारलाई थप चार लाख रुपियाँ व्यवस्थापन गर्ने समेत निर्णय गरिएको उहाँको भनाइ छ । गत आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक र गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको मासिक तलबको पाँच प्रतिशत रकम पीडितलाई राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको थियो ।

अग्नि पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पूर्ण क्षति भएका प्रत्येक घरपरिवारलाई तत्काल राहत स्वरूप प्रति घर २० हजार रकम प्रदान गरिएको छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले जिन्सी र नगद उपलब्ध गराइरहेका छन् । राहत र उद्धारका काम तीव्र पारिएकाले जस्तापाता सहयोगसँगै नगद रकम राहत कोषमा उपलब्ध गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।