• २४ वैशाख २०८१, सोमबार

‘‘कृषिमा छाडा चौपाया र बजारीकरण प्रमुख समस्या’’

blog

छाडा चौपाया । फाइल तस्बिर

भजनी (कैलाली), वैशाख १२ गते । कैलालीको टीकापुर नगरपालिका-२ की सरिता घर्तीमगरसँग १० कट्ठा जमिन छ । त्यही जग्गामा खेतीपाती गरी गुजारा गर्दै आउनुभएकी सरिताले यसपालि हिउँदे खेती लगाउनुभएन, खेत बाँझै रह्यो । छाडा पशु चौपायाको सास्तीले उहाँले खेती नलगाउनुभएको हो । 

उहाँले हिउँदे खेती नलगाउँदा अहिले २० हजारको गहुँ खरिद गर्नुभएको छ । “आफ्नो जग्गा बाँझो राखेर अरूबाट खाद्यान्न किन्नु परेको छ । यो सबै छाडा पशुचौपायाका कारण भएको हो”, उहाँले भन्नुभयो, “खेती लगायो भने चौपायालाई ठिक्क हुन्छ ।” केराखेती गर्दै आउनुभएका चक्रबहादुर घर्तीमगरले कृषि पेसाबाट किसानले उत्पादन गरे पनि छाडा चौपायका कारण बर्सेनि खेतीयोग्य जमिन खाली हुने अवस्थामा पुगेको बताउनुभयो । 

चौपाया व्यवस्थापन नभएसम्म कृषकको लगानी खेर जाने उहाँको भनाइ छ । टोल विकास संस्थाकी अध्यक्ष मायादेवी सोनाहाले अरूको जग्गा भाडामा लिएर कृषि गर्दै आउनुभएको छ । उहाँको परिवार नै कृषिमा आश्रित छ । व्यावसायिक कृषि गर्दै आउनुभएको उहाँ पनि छाडा पशुचौपायाले कृषि पेसाबाट विस्थापित हुने अवस्थामा पुग्नुभएको छ ।

“दुनियाँका चौपाया ल्याएर हाम्रो वडामा व्यवस्थापन गरिएको छ । त्यो नामको मात्रै व्यवस्थापन हुँदा किसानले खेती गर्न छोडेका छन्”, मायादेवीले भन्नुभयो, “यदि गौशाला व्यवस्थापन गर्न सक्यो भने कृषिमा ठुलो सम्भावना छ ।” टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्दै आएको छ । गौशाला आसपासका किसानलाई गौशालाबाट आउने चौपायाले हैरान बनाएको छ । जुन गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका करिब एक हजारभन्दा बढी चौपाया व्यवस्थापन गरिएको छ ।

कृषि उत्पादनको बजारीकरण नहुनु अर्को समस्या

केराखेती गर्दै आउनुभएका खुसीराम चौधरी बजारीकरणको समस्याले उत्पादन भएको वस्तु लागत मूल्यभन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । बजारीकरणमा बिचौलियाका कारण किसानमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको उहाँको गुनासो छ । 

“किसानलाई सरकारले सहुलियत दिने हो भने उत्पादन हुने सबै वस्तुको मूल्य निर्धारण गर्ने काम राज्यले गर्नुपर्छ र उत्पादित वस्तु खरिद गर्ने काम राज्यले गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “यति गर्न सक्यो भने राज्यले कृषिका नाममा दिने अनुदान, सहयोग दिनु पर्दैन । बरु प्राविधिक सहयोग गरे किसानलाई राहत हुन्छ ।” त्यस्तै बङ्गुरपालक किसान पतीराम चौधरीले सीप नसिकी व्यवसाय सञ्चालन गर्दा ठुलो नोक्सानी बेहोर्नु पर्‍यो । किसानलाई प्राविधिक सहयोग र तालिम आवश्यक रहेको उहाँले बताउनुभयो । “मैले एक सय सात वटा बङ्गुर पालेको थिएँ । त्यसमध्ये ७६ बङ्गुर मरे । त्यसमा २८ बङ्गुर बच्चा पाउने थिए । ती मर्नुका कारण पत्ता लगाउन सकिन”, उहाँले भन्नुभयो । 

एक वडामा एक जना प्राविधिकको व्यवस्था गरिदिएमा बङ्गुरबाट लाखौँ घाटा खानुपर्ने स्थिति नआउने उहाँको भनाइ छ । कृषि प्राविधिक वीरबहादुर चौधरीले स्थानीय सरकारले एक वडा एक कृषि प्राविधिकको व्यवस्थापन गर्दै किसानको खेतसम्म प्राविधिक पुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले किसान एग्रोभेटप्रति पूर्ण आश्रित भएको बताउनुभयो । 

टीकापुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दीपक चौधरीले कृषिबाटै आत्मनिर्भर बनाउन वडाले टोल विकास संस्थालाई जागरूक बनाउन लागेको बताउनुभयो । “कृषिलाई व्यवसायीकरण गर्न एउटा टोल विकास संस्थालाई परीक्षणका रूपमा अदुवाखेती विस्तारको योजना वडाले बनाएको छ । यस वर्ष सफलता हासिल भयो भने वडाका १८ वटै टोल विकास संस्थालाई व्यवसायसँग जोड्ने छौँ”, वडा अध्यक्ष चौधरीले भन्नुभयो, “त्यसमा केही स्थानीयको लगानी आवश्यक हुन्छ । केही लगानी र त्यसको बजारीकरण वडा कार्यालयले गर्छ ।” 

उहाँले कृषि सहकारीसँग समन्वय गरेर तरकारी सङ्कलन केन्द्र स्थापनाको तयारी गरिएको बताउनुभयो । बडघर जितबहादुर चौधरीले किसानले उत्पादन गरेको वस्तुको बजारीकरण प्रमुख समस्याका रूपमा रहेको बताउनुभयो । उहाँ किसानलाई समयमा बीउबिजन र मलखाद उपलब्ध नहुनु अर्को चुनौती रहेको बताउनुहुन्छ । “यहाँ दुई किसिमको किसान छन्, एउटा परम्परागत र अर्को व्यावसायिक । ती किसानलाई वर्गीकरण गरेर स्थानीय सरकारले सहयोग र समन्वय गर्न सक्यो भने वास्तविक किसानको पहिचान हुनसक्छ”, उहाँले भन्नुभयो, “यहाँ व्यवसायका नाममा अनुदान लिने काम भएको छ । वास्तविक किसानले अभावमा पनि कृषि पेसालाई अगालेको देखिन्छ ।” रासस