• २४ वैशाख २०८१, सोमबार

लगानी सम्मेलनका ‘सोकेस’ परियोजना स्वीकृत

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, वैशाख १२ गते । वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने ‘सोकेस’ परियोजनाहरूको सूची स्वीकृत भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ५८ औँ बैठकले सम्मेलनमा प्रस्तुत हुने १४८ वटा परियोजना स्वीकृत गरेको हो । बैठकले सम्मेलनमा आशयपत्र आह्वान गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाको सूची पनि स्वीकृत गरेको छ । 

सम्मेलनको सचिवालयसमेत रहेको लगानी बोर्डका कार्यालयले सोकेसका रूपमा राखिने परियोजनालाई निजी क्षेत्रबाट प्रस्तुत हुने, विस्तृत लगानी सम्झौता भइसकेका, स्थानीय तहबाट प्रस्तावितलगायत शीर्षकमा वर्गीकरण गरेर सम्बन्धित मन्त्रालय तथा निकायसमेत उल्लेख गरेको छ । सम्मेलनका क्रममा लगानीकर्तालाई यी परियोजनाका लागि लगानी आह्वान हुने छ । 

बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि थप छ अर्ब ६३ करोड ४० लाख रुपियाँ लगानी स्वीकृत गरेको छ । त्यस्तै बैठकले डाबर नेपालको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।  डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि नौ अर्ब ६८ करोड रुपियाँ पुनर्लगानीका लागि प्रस्ताव गरेको थियो । डाबरको प्रस्ताव अनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भएकाले मूल्याङ्कनपछि वार्ता प्रक्रिया अगाडि बढाएको बोर्डले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष प्रचण्डले सम्मेलनलाई नतिजामुखी बनाउन निर्देशन दिनुभयो । सम्मेलन औपचारिकतामा मात्र सीमित हुन नहुने भन्दै उहाँले सम्मेलनमा प्रस्तुत गरिने परियोजना इच्छासूचीका रूपमा मात्र हुन नहुने बताउनुभयो । 

स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपुँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयहरूलाई विशेष एकाइ नै बनाएर अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने भएकाले निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच, पुरातन नीतिगत र कानुनी व्यवस्थाबाट सम्भव भएकाले लगानी अवरोध हटाउन कानुन संशोधनको कार्य अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । 

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयन अवस्था एवं लगानी सम्मेलनको तयारीका विषयमा जानकारी गराउनुभएको थियो ।