• २१ वैशाख २०८१, शुक्रबार

नरसिंहमा आगलागी, १५ घर जलेर नष्ट

blog

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा भएको आगलागीबाट भएको क्षतिग्रस्त घरहरू । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, वैशाख ११ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्जको शिशौ टोलमा भीषण आगलागी भएको छ । स्थानीय रामदेव मेहताको परालबाट सल्केको आगोले १५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

भोक्राहा नरसिंह ३ शिशो टोलमा भएको भीषण आगलागीमा पशुचौपा सहित क्षति भएको पीडित परिवारले जनाएको छ । मंगलबार दिउँसो मेहताको परालबाट आगलागी भएको र आगलागीमा रामदेव मेहताको दुई वटा घर सहित स्थानीय ७ परिवारको १५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार परालबाट सल्केको आगोले शिशो टोलका ७ परिवारको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगदसहित गरेर ५० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगोबाट भएको क्षतिको थप विवरण सङ्कलनको कार्य भइरहेको समेत भण्डारीले जानकारी दिनुभयो ।

आगोलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीयवासी र कोशी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, रामधुनी र इनरुवा नगरपालिका तथा इटहरी उपमहानगरपालिका सहितका सात वटा दमकल परिचालन गरेको थियो । आगलागीमा एक जना बालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।