• १२ असार २०८२, बिहिबार

अधिकांश पालिकाले समयसीमाभित्रै ल्याए बजेट

blog

रुपन्देहीको गैडहवा गाउँपालिकाको १६ औँ अधिवेशन ।

लुम्बिनी प्रदेश ब्युरो

बुटवल, असार १२ गते । लुम्बिनी प्रदेशका अधिकांश स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय पालिकाले सोमबार बजेट ल्याएका थिए भने कतिपयले मङ्गलबार र बुधबार बजेट सार्वजनिक गरेका हुन् ।

रुपन्देहीमा भौतिक पूर्वाधार केन्द्रित 

बुटवल समाचारदाताका अनुसार रुपन्देहीका गाउँपालिकाले आगामी आर्थिक आव २०८२/८३ लागि ल्याएको बजेट भौतिक पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यमा केन्द्रित गरेका छन् । कञ्चन गाउँपालिकाले बजेटमा कञ्चनवासीका लागि लामो प्रतीक्षाका रूपमा रहेको भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न यथाशीघ्र जग्गाको पुर्जा वितरण गर्ने कार्यका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।  

गैडहवा गाउँपालिकाले कच्ची सडकलाई कालोपत्रे गर्ने अभियानका साथ भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले गाउँपालिकाको १६ औँ अधिवेशनमा नयाँ बजेट सार्वजनिक गर्नुभएको हो । बजेटमा पालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । खास गरी कृषि सडक निर्माण गरी कृषकलाई बजारसँग जोड्ने लक्ष्य राखिएको छ । त्यसै गरी शुद्धोधन गाउँपालिकाले पनि नयाँ बजेटमार्फत गाउँपालिकाको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । कृषि, सिँचाइ, तटबन्ध, शिक्षा र स्वास्थ्यलाई शुद्धोधनको बजेटमा प्राथमिकता राखिएको छ । 

बाँकेका आठ पालिकाको बजेट सात अर्ब

नेपालगन्ज समाचारदाताका अनुसार बाँकेका आठ वटा पालिकाले आव २०८२/८३ का लागि सात अर्ब ३० करोड रुपियाँभन्दा बढीको बजेट प्रस्तुत गरेका छन् । आठ वटै पालिकाले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रममा अधिकांशले शिक्षा, पूर्वाधार विकास, सामाजिक विकास र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् । 

कोहलपुर नगरपालिकाले एक अर्ब १६ करोड ७० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ भने खजुरा गाउँपालिकाले ८५ करोड ७२ लाख ३१ हजार ५७१, राप्तीसोनारी गाउँपालिकाले एक अर्ब २० करोड छ लाख २९ हजार, बैजनाथ गाउँपालिकाले ८२ करोड २१ लाख ५२ हजार १५३, डुडुवा गाउँपालिकाले ५६ करोड १६ लाख आठ हजार र जानकी गाउँपालिकाले ५२ करोड ३६ लाख ९६ हजार ६२१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । 

जिल्लामा सबैभन्दा पिछिडिएको मानिने नरैनापुर र राप्तीसोनारी गाउँपालिकाले बजेटमा सबैभन्दा बढी महत्व शिक्षा, सामाजिक विकास र पूर्वाधार विकासमा दिएका छन् भने नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले शिक्षा र पूर्वाधार विकाससँगै स्वास्थ्यलाई बढी महìव दिएका छन् । 

अर्घाखाँचीका पाँच पालिकाले ल्याए बजेट 

सन्धिखर्क समाचारदाताका अनुसार अर्घाखाँचीका छ पालिकामध्ये पाँच वटाले आगामी आव २०८२/८३ का लागि पाँच अर्ब ८७ करोड रुपियाँभन्दा धेरैको बजेट ल्याएका छन् । भूमिकास्थान नगरपालिकाबाहेक अन्य पालिकाले बजेट सार्वजनिक गरेका हुन् । बजेटमा पूर्वाधार विकास, कृषि उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । 

सन्धिखर्क नगरपालिकाले एक अर्ब ११ करोड १४ लाख रुपियाँको बजेट ल्याएको छ । शीतगङ्गा नगरपालिकाले ९३ करोड ६७ लाख ५० हजार रुपियाँको बजेट ल्याएको छ भने मालारानी गाउँपालिकाको बजेट ६२ करोड ९२ लाख ५१ हजार रुपियाँ छ । त्यस्तै पाणिनि गाउँपालिकाले ७२ करोड २० लाख ७४ हजार पाँच सय रुपियाँको बजेट ल्याएको छ भने छत्रदेव गाउँपालिकाको बजेट ५४ करोड नौ लाख ५५ हजार ७० रुपियाँ रहेको छ । 

सन्धिखर्क नगरपालिकाले स्थानीय रैथाने बालीबाट उत्पादित वस्तु ब्रान्डिङ र प्याकेजिङ गरेर पालिकाभित्र छनोट गरेका सहकारीबाट बजारीकरण गर्ने भएको छ । नगरपालिकालाई खाद्यान्नमा आत्ननिर्भर बनाउन लुम्बिनी प्रदेश विशेष कार्यक्रम अन्तर्गत नवीनतम प्रविधि अन्तर्गतको धान, मकै बाली प्रवर्धन गर्न १७ लाख रुपियाँ विनियोजन भएको छ । 

मालारानी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले एक करोड ७९ लाख ५० हजार रुपियाँ विनियोजन गरेको छ । व्यावसायिक कृषकलाई ७० प्रतिशत लागत साझेदारीमा अनुदान दिने भएको छ । त्यस्तै पाणिनि गाउँपालिकाले कृषि उत्पादनलाई जोड दिएको छ । छत्रदेव गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने, कृषि उद्यमलाई प्राथिमकिता दिएको छ । 

रामग्राममा छात्रालाई निःशुल्क शिक्षा 

पश्चिम नवलपरासी समाचारदाताका अनुसार रामग्राम नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन र पूर्वाधार विकासमा प्राथमिकता दिँदै झन्डै डेढ अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सम्झना चौधरीले आगामी आवका लागि एक अर्ब ३१ करोड ३६ लाख रुपियाँको अनुमानित आयव्ययको विवरण सार्वजनिक गर्नुभएको हो । रामग्राम नगरपालिकाले आगामी आवको बजेटमा कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्राको शुल्क मिनाहा गर्ने उल्लेख गरेको छ । छोरीको पढाइलाई निरन्तरता दिन निःशुल्क पढ्ने व्यवस्था गर्न बजेट व्यवस्थापन गरिएको हो । 

प्युठानमा ‘फर्क युवा’ र ‘वन उद्यमी’ कार्यक्रम 

बिजुवार समाचारदाताका अनुसार प्युठान जिल्लाका नौ वटै स्थानीय तहले आव २०८२/८३ का लागि पाँच अर्ब ७९ करोड ६७ लाख रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका छन् । रोजगारी सिर्जना, उत्पादन वृद्धि, कृषि, शिक्षा र आधारभूत पूर्वाधार विकास जस्ता क्षेत्रलाई यस बजेटमा प्राथमिकता दिइएको छ ।

गौमुखी गाउँपालिकाले ५० करोड एक लाख ३७ हजार ४८४ रुपियाँको बजेट सार्वजनिक गर्दै ‘मूलदेखि मुखसम्म पानी अभियान’ अन्तर्गत ‘एक घर एक धारा’ योजना कार्यान्वयन गर्ने जनाएको छ । यस वर्षदेखि निःशुल्क घर बिमा कार्यक्रम पनि सुरु गरिने उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयो ।

सरुमारानी गाउँपालिकाले ४९ करोड २१ लाख ७९ हजार रुपियाँको बजेट सार्वजनिक गर्दै डिजिटल शिक्षा प्रवर्धन, छोरी पेवा बचत योजना र किसानसँग गाउँ सरकार कार्यक्रमलाई निरन्तरता दिने योजना अघि सारेको छ । मल्लरानी गाउँपालिकाले ४३ करोड ४९ लाख रुपियाँको बजेट ल्याउँदै ‘खेतबारीमा तरकारी, घर घरमा रोजगारी’ अभियानमार्फत उत्पादनमुखी अनुदान कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

ऐरावती गाउँपालिकाले ४९ करोड ८९ लाख २५ हजार रुपियाँको बजेट पारित गर्दै सहकारीमार्फत कृषिजन्य तथा औद्योगिक वस्तुको बजारीकरण गर्ने योजना सार्वजनिक गरेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा ‘एमबिबिएस छात्रवृत्ति कार्यक्रम’, ‘अध्यक्ष युवा कार्यक्रम’, उपाध्यक्षका दुई कार्यक्रम ‘न्यायिक पहुँच’ र ‘महिला सशक्तीकरण’, तथा घरेलु उत्पादन प्रवर्धनका लागि ‘स्थानीय मदिरा ब्रान्डिङमा’ बजेट छुट्याइएको छ । नौबहिनी गाउँपालिकाले ६९ करोड ७८ लाख ५१ हजार रुपियाँको बजेट ल्याएको छ । ‘फर्क युवा, वन उद्यमी’ अभियानमार्फत विदेशबाट फर्किएका युवालाई कृषि उद्यममा आकर्षण गर्ने योजना प्रस्तुत गरिएको छ ।

स्वर्गद्वारी नगरपालिकाले सबैभन्दा ठुलो ९१ करोड ५१ लाख २५ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । माण्डवी गाउँपालिकाले ७२ करोड ७६ लाख १५ हजार नौ सय रुपियाँ विनियोजन गर्दै पुराना योजनालाई निरन्तरता दिने जनाएको छ ।

प्युठान नगरपालिकाले ९० करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगर प्रवक्ता सुमनराज श्रेष्ठका अनुसार नयाँ योजना अघि नबढाई ‘एक वडा एक पक्की सडक’ लगायतका चालु योजना कार्यान्वयनमा जोड दिइने छ । झिमरुक गाउँपालिकाले ६३ करोड रुपियाँको बजेट पारित गर्दै शिक्षा क्षेत्रमा मात्रै ४२ करोड २५ लाख रुपियाँ विनियोजन गरेको जनाएको छ ।