• १२ असार २०८२, बिहिबार

स्थानीयको लगानीमा बौद्ध स्तूप

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), असार १२ गते । अहिले गाउँमा मान्छेको सङ्ख्या पातलो बन्दै गएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८, भार्सेमा पनि अत्यधिक बसाइँसराइ छ तर स्थानीयले गाउँको सामाजिक विकासमा पुर्‍याएको सहयोग र योगदान भने निकै उदाहरणीय बनेको छ । जसमध्ये भर्खरै निर्माण भएको बौद्ध स्तूप पनि हो । गाउँमा जन्मिएर स्वदेश तथा परदेशमा रहेका भार्सेलीले पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले दुई करोड ५० लाख रुपियाँको लागतमा बौद्ध स्तूप निर्माण गरेका छन् । 


भार्से स्वयम्भू देउराली बौद्ध स्तूप निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीका अनुसार करिब साढे आठ सय व्यक्तिले बौद्ध स्तूप निर्माणको अभियानमा सहयोग गरेका छन् । उहाँले बौद्ध स्तूप निर्माणको परिकल्पनाकारसमेत रहनुभएका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकी एक्लैले एक करोड १५ लाख रुपियाँभन्दा बढी सहयोग गरेको बताउनुभयो । उहाँले भार्से र आसपासका एक दर्जनभन्दा बढी शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । समाजसेवी बुढाथोकी अहिले हङकङमा बस्दै आउनुभएको छ । 

स्थानीयले भावनात्मक रूपमा दुई सय रुपियाँसमेत प्रदान गरेका छन् । स्थानीय सरकार र पर्यटन कार्यालय भैरहवाबाट विभिन्न समयमा गरेर २५ लाख रुपियाँ बराबरको काम भार्से देउरालीमा भएका छन् । बुढाथोकीले अहिले पर्यटकको आकर्षण र भार्सेको प्रशंसा पाउँदा बौद्ध स्तूप र पर्यटकीय संरचना निर्माणका बेला पाएको दुःख बिर्सेको बताउनुभयो । 


स्तूप निर्माणका लागि भार्सेली समाज हङकङसहित, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ र छिमेकी गाउँका प्रवासीले आर्थिक सहयोग गरेका छन् भने भार्सेबाट काठमाडौँमा बसोबास गर्ने सिद्धार्थ डिजाइनर्सको टोलीले स्तूप र फनपार्कको डिजाइन गरेका छन् । बौद्ध स्तूपसँगै पर्यटकलाई थप आकर्षित गर्न नजिकै फनपार्क निर्माण गरिएको छ । स्वयम्भू देउराली बौद्ध स्तूप निर्माण समितिका कोषाध्यक्ष सुजन गलामीका अनुसार पार्कमा अहिले टिकटक, लभ प्रतीक र चन्द्रमा बनाइएको छ ।