• २२ वैशाख २०८१, शनिबार

थारुसहित चार भाषामा नागरिक बडापत्र

blog

चार भाषामा नागरिक बडापत्र सार्वजनिक गरिदै ।

छविलाल पाण्डे 

बुटवल, वैशाख ११ गते । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो ।

बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसङ्ख्याको अनुपातका आधारमा ४ भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलबार एक कार्यक्रमबिच नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गर्नुभयो ।  

त्यस अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले जनसङ्ख्याको आधारमा चार भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरू केही भाषाका बडापत्र राख्नेगरी तयारी भएको बताउनुभयो । 

उहाँले अहिले बुटवलमा बोलीचालीमा रहेका मुख्य चार भाषाको बडापत्र तयार गरेको बताउँदै आगामी दिनमा आवश्यकताअनुसार अरू भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिने बताउनुभयो । 

नगर प्रमुख पाण्डेयले स्थानीयस्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरूको संलग्नतामा बडापत्र तयार गरिएकाले भूगोलअनुसार भाषामा फरक आउनसक्ने उल्लेख गर्नुभयो । 

‘बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषाहरू र अन्यत्रका भाषाहरूमा मेल नखान सक्छ भन्ने विज्ञहरूकै सल्लाहअनुसार हामीले बुटवलको चलनचल्तीअनुसार नै प्रयोगमा आउने बडापत्र बनाएका छौँ, उहाँले भन्नुभयो, ‘यसमा विज्ञहरूले केही सुधार गर्नुपर्ने र थप्नुपर्ने भएमा हामीलाई सुझाव दिनुहोला, समयानुकूल परिमार्जन गर्दै लगिन्छ ।’

कार्यक्रममा उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न चार भाषामा बडापत्र तयार गरिएको बताउनुभयो । 

राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८, नेपाल भाषा बोल्ने ३ र थारु भाषा बोल्ने ४.९ प्रतिशत जनसङ्ख्या रहेको  छ ।

कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिनेछ । कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ ।

बडापत्रलाई पुस्तकका रूपमा प्रकाशन गरिएको र छिट्टै नै डिजिटल रूपमा सबै वडाहरूमा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो ।