• २२ वैशाख २०८१, शनिबार

बाँकेमा ४० हेक्टरमा चैते धान रोपाइँ

blog

बाँकेको बैजानथ गाउँपालिकामा लगाइएको चैते धान। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख ११ गते। पछिल्लो केही वर्ष यता आएर बाँके जिल्लामा पनि चैते धान रोप्न सुरु गरिएको छ। चैते धानको उत्पादन बढ्दै गएपछि यो वर्ष जिल्लामा ४० हेक्टर क्षेत्रफलमा धान लगाइएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।  

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँले गत वर्ष ३६ हेक्टरमा चैते धान लगाइएको जनाउँदै उत्पादन राम्रो भएपछि यस पटक वृद्धि गरेर ४० हेक्टरमा लगाइएको बताउनुभयो। 

उहाँले फागुनमा राखेको चैते धानको बिउँ तयार भएर किसानले चैत महिनाको दोस्रो हप्ताभित्र धान रोपिसकेर गोडमेल गर्नको लागि मलको माग समेत गरिसकेको बताउनुभयो। 

यसवर्ष चैते धान खेतीको लागि कृषि ज्ञान केन्द्र बाँकेले धान लगाइएको जग्गामा हर्दिनाथ ३ भन्ने जातको धान जुन ११५ र १२० दिन भित्र पाक्ने धानको बिउँ, मल र विषादी कृषकलाई निःशुल्क उपलब्ध गराएको जनाएको छ।

कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत सेतीराम बबाल (मगर) ले दिनुभएको जानकारी अनुसार कृषि ज्ञान केन्द्रले केही वर्षदेखि किसानलाई चैते धानमा उत्साह बढाउन निःशुल्क रूपमा सहयोग गर्दै आएको छ। 

कृषि ज्ञान केन्द्रले ३१ हेक्टर जमिनको लागि र केही किसानले आफ्नै लगानीमा र केही बिउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बिउबाट ४० हेक्टर जमिनमा चैते धान रोपिएको छ।

बाँकेमा चैते धानका लागि पकेट क्षेत्र नतोकिए पनि यो वर्ष जिल्लाको बैजनाथ गाउँपालिकाको वडा नम्बर ८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका वडा नम्बर ३ को सूर्य लालपुर्जा, बनकट्टि, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका वडा नम्बर २ को के गाउँमा चैते धान रोपाइँ गरिसकिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। 

केन्द्रका अनुसार बाँके जिल्लाभित्र विशेष गरेर बार्हैमासे पानीको सुविधा हुने क्षेत्रमा चैते धान रोप्ने गरिएको छ। बाँके जिल्ला भरिका विभिन्न पालिकाका करिब सय जना किसानले कृषि ज्ञान केन्द्रबाट बिउ लगेर चैते धान रोपेको जनाइएको छ।