• २२ वैशाख २०८१, शनिबार

म्याग्नेसाइट उद्योग पुनः सञ्चालनको आशा

blog

बाबुराम शर्मा 

दोलखा, वैशाख ११  गते । दोलखाको भीमेश्वर नगरपालिका–९ स्थित खरीढुङ्गास्थित ८० बर्से राष्ट्रिय गौरवको नेपाल ओरियन्ट म्याग्नेसाइट कम्पनी पुनः सञ्चालन गर्न अस्ट्रियाली लगानीकर्ताले चासो देखाएका छन् । 

खुलेको १० वर्ष नबित्दै बन्द हुन पुगेको सो कम्पनी पुनः सञ्चालनका लागि अस्ट्रियाका चार जना लगानीकर्ताको प्राविधिक टोलीले आफ्नै खर्चमा विस्तृत अध्ययन गरेको वडाध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार सरकारी उदासीनताले कम्पनी बन्द भएको चार दशक बितिसक्दा पनि नखुलेको स्थानीयले आरोप लगाइरहेका बेला तत्कालीन नेपाली लगानीकर्ता स्व. मोहनगोपाल खेतानका प्रतिनिधि र नेपालका तर्फबाट केही कर्मचारीको उपस्थितिमा अध्ययन भएको हो । नेपाल सरकारको खर्चमा योभन्दा अगाडि थुप्रै टोलीले अध्ययन गरे पनि यति चासो राखेका थिएनन् । यसरी गहिरो चासो देख्दा पुनः सञ्चालन हुनेमा झिनो आशा पलाएको छ । २०२८ सालमा भएको अध्ययनले १८ करोड मेट्रिक टन म्याग्नेसाइट रहेको देखाएकोमा अब यथार्थ कति छ भन्ने अध्ययनपश्चात् पुनः सञ्चालन हुने आश्वासन अध्ययन टोलीबाट आएको छ । 

बन्द भएको करिब ४४ वर्ष बितिसक्दा पनि कम्पनी सञ्चालन हुन नसक्नुमा सरकारी उदासीनता जिम्मेवार छ । स्थानीय भुवन केसीले भन्नुभयो, “सरकार मूकदर्शक भएर बसेकाले करोडौँको लगानी खेर गइरहेको छ । मुलुकमा यस्ता खाले उद्योग नखुल्दा युवा बिदेसिन बाध्य भएका हुन् । घरआँगनमा आएको सरकारले पनि खासै वास्ता पनि गरेको देखिँदैन ।”

उत्पादित वस्तुले उचित बजार नपाएको तथा लगानीकर्ताबिच विवादसमेत रहेकाले सो उद्योग बन्द हुन पुगेको बताइएको छ । तीन अर्ब ५२ करोड लगानीमा २०३६ सालदेखि सञ्चालन भएको उद्योगमा नेपाल सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा इन्डस्ट्रिज लिमिटेडको साढे १२ र नेपाली लगानीकर्ता मोहनगोपाल खेतानको साढे १२ प्रतिशत लगानी रहेको थियो । 

भारतीय लगानीकर्ताले आफ्नो सेयर तीन करोड ७५ लाख रुपियाँ मागेको र नेपाल सरकारले भने चुक्ता गरिसकेको जनाएको छ । नेपाल सरकारले उद्योगमा बढी सेयर लगानी गर्ने मोहनगोपाल खेतानलाई उद्योग सञ्चालन गर्न दिएको थियो तर उहाँको देहावसान भएकाले कार्य अगाडि बढ्न नसकेको बताइन्छ । 

यो म्याग्नेसाइट तथा खरी प्रशोधनका लागि लामोसाँघुसम्म लैजान २०४० सालमा १६ करोड रुपियाँ लगानीमा ८७ वटा रोपवे निर्माण गरिएको भए पनि ती रोपवे सञ्चालन गरेको एक हप्ता नबित्दै बिग्रिएपछि थन्किएका छन् । मर्मत गर्नुभन्दा सट्टा कम्पनीले महँगोमा टिप्परमार्फत खरी ओसा-यो । 

जापानबाट ल्याएका रोपवे सामग्री भारतको कोलकातामा साटेर नक्कली सामान ल्याएका कारण बिग्रिएको हो । सामान साटेर एक/दुई व्यक्ति मोटाएको तर राष्ट्रलाई नै डुबाएको स्थानीयको आरोप छ । यो उद्योगमा रोपवे मात्र होइन, खानी क्षेत्रभित्र निर्माण गरिएका थुप्रै संरचना बेवारिसे अवस्थामा छन् । तत्कालीन द्वन्द्व अवस्थामा आगजानी गरी खरानी बनाइएको छ । खानी परिसरमा चार वटा डोजर, १२ वटा टिप्पर र प्वाल (होल) खोप्ने तीन वटा मेसिन अलपत्र अवस्थामा देखिन्छन् । 

उद्योगका भौतिक संरचनामध्ये एक नम्बरमा सुरक्षाकर्मी बसेका छन् । चार÷पाँच जना चौकीदार मात्र भेटिन्छन् । उद्योग सञ्चालनका बखत पाँच सय कर्मचारी तथा दुई हजार मजदुर रहेका थिए । कार्यालयमा समेत अझै दर्जनौँ कर्मचारी रहेका छन् । तिनीहरूलाई सरकारले तलब भुक्तानी गर्दै आएको छ । कतिपय संरचना भग्नावशेषमा परिणत भएका छन् । सशस्त्र द्वन्द्वका व्रmममा माओवादीले सवारीसाधन र केही भवनमा आगजनी गरेका थिए । तत्कालीन सरकारले यो कम्पनीलाई २०५९ सालमा रुग्ण उद्योग घोषणा गरेको थियो । 

स्थानीयका अनुसार २०५० सालसम्म खानीबाट म्याग्नेसाइट निकालिएको थियो । यो अवधिमा लाखौँ टन म्याग्नेसाइट र सोही परिमाणमा खरी उत्खनन गरी नमुना परीक्षणकै नाममा विदेश निर्यात गरिएको थियो । अझै पनि खानीमा एक हजार आठ सय टन म्याग्नेसाइट रहेको अनुसन्धानकर्ताले बताएका छन् । 

साबिक लाँकुरीडाँडा गाविस आसपासमा दशकौँअघि पत्ता लागेको खानी २०३६ सालमा स्थापना गरिएको थियो । उद्योगले स्थानीयवासीलाई छ सय रोपनी जग्गाको मुआब्जा तिरे पनि जबरजस्ती चार हजार रोपनीभन्दा बढी क्षेत्रफलबाट अव्यवस्थित रूपमा म्याग्नेसाइट र खरी निकालेको छ । ती खनिज पदार्थ उत्खनन गर्दा निस्किएको माटो जथाभाबी फ्याँक्दा भूक्षयबाट खानी आसपासका सयौँ नागरिक प्रभावित भएका छन् । कतिपय घरबारी छोडेर हिँड्न बाध्य छन् ।