• २१ वैशाख २०८१, शुक्रबार

सौराहामा रात्रिकालीन सेवा नदिन आग्रह

blog

वसन्त पराजुली 

नारायणगढ, वैशाख ११ गते । काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा रात्रिकालीन सेवा खुला गर्ने निर्णय गरिएसँगै देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पनि चौबिसै घण्टा खुला गर्ने विषयमा चर्चा सुरु भएको छ । 

तर, व्यवसायी तथा चरा संरक्षणविज्ञले रात्रिकालीन पर्यटन सेवाले वन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणमा असर पर्ने बताउँछन् । काठमाडौँ र पोखराको तुलनामा सौराहाको पर्यटनको अवस्था फरक भएकाले जङ्गल सफारी र जैविक विविधता अवलोकन गर्न आउने पर्यटकले शान्त वातावरणमा बस्न रुचाउने उहाँहरूको अनुभव छ ।  

सौराहाका पुराना होटल व्यवसायी रामकुमार आर्याल सौराहामा कुनै हालतमा रात्रिकालीन खुला गर्न नहुने तर्क गर्नुहुन्छ । जङ्गल सफारीमा निर्भर रहेको सौराहाको पर्यटनलाई चौबिसै घण्टा खुला गर्दा पर्यटन क्षेत्रमै असर पर्ने उहाँको बुझाइ छ  ।  जैविक विविधिताका दृष्टिले पनि यहाँ आउने पर्यटकले शान्त वातावरण खोजेका हुन्छन् तर अहिले नै ध्वनि प्रदूषणका कारण सौराहा आक्रान्त छ अनि चौबिसै घण्टा खुला गर्दा गन्तव्यप्रतिको महत्व घट्दै जाने उहाँको भनाइ छ । 

सौराहाका नयाँ पुस्ताका व्यवसायीहरू भने सौराहामा पनि रात्रिकालीन सेवा सुरु हुनुपर्ने धारणा राख्छन् । रेस्टुरेन्ट  व्यवसायी सङ्घ सौराहाका (रेवान) पूर्वअध्यक्ष राजन भट्ट काठमाडौँ र पोखरामा जसरी सौराहामा पनि रात्रिकालीन सेवा पाइन्छ भनेर सन्देश दिन ढिला भइसकेको बताउनुहुन्छ । 

“हामी पूर्वपश्चिम राजमार्गकै समिपमा छौँ । कमसेकम राति जति बेला आउँदा पनि सौराहा खुलै हुन्छ भन्ने हो भने त सौराहा ताकेर आउने पर्यटक अझै बढ्ने छन्,” उहाँको तर्क छ । वन्यजन्तुका गतिविधिलाई असर नपर्ने गरी र रात्रिकालीन म्युजिक बजाउन नपाउने गरी कडा मापदण्ड बनाएर पनि रातिमा सौराहा जागा राख्नुपर्ने उहाँको तर्क छ  । 

विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार हो सौराहा । निकुञ्जमा ६४ किसिमका स्तनधारी  जनावर, छ सय प्रजातिका चरा, ५९ किसिमका उभयचर तथा सरिसृप, १२० प्रजातिका माछा, ५० किसिमका घाँस, १६ किसिमका सुनगाभा, ७३ किसिमका उन्यु,  सयभन्दा बढी प्रकारका वनस्पति रहेको तथ्य भेटिन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी वन्यजन्तुको बढी सक्रियता रहने रात्रिकालीन अवस्थामा पर्यटक गतिविधि रोक्नुपर्ने बताउनुहुन्छ । 

“वन्यजन्तुको मुमेन्ट गर्ने भनेकै रातिमा हो । यो बेला कुनै पनि गतिविधि गर्नु सुरक्षाका दृष्टिले पनि राम्रो मानिँदैन,” उहाँले भन्नुभयो । बाघ, भालु जस्ता हिंस्रक जनावरहरू रहेको निकुञ्जमा दिउँसै त सुरक्षा अपनाएर हिँडडुल गर्नुपर्ने उहाँको भनाइ छ । वन्यजन्तु विज्ञ डा. बाबुराम लामिछाने पनि रात्रिकालीन पर्यटन सौराहाका लागि उपयोगी नहुने बताउनुहुन्छ ।