• २१ वैशाख २०८१, शुक्रबार

पर्सामा ज्वरोका बिरामी बढे

blog

फाइल तस्बिर

पर्सा ११ वैशाख गते । गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।  नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो ।

‘‘अहिले अस्पतालमा ज्वरो र पेट दुख्ने समस्या लिएर अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या भने बढेको छ’’, उहाँले भन्नुभयो, ‘‘सामान्य दिनमा आकस्मिक कक्षमा धेरै बिरामी आउँदैन्थे । तर, अहिले दैनिक ९० भन्दा धेरै जना ज्वरो तथा पेट दुख्ने समस्याका बिरामी आकस्मिक कक्षमा उपचार गर्न आइरहेका छन् ।’’ 

नारायणी अस्पतालमा दैनिक नौ सयभन्दा धेरै बिरामी उपचार गर्न आउने गर्छन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहले विगत १५ मा समग्रमा अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा भने धेरै घटबढ नभएको जानकारी दिनुभयो ।

‘‘हामीले आज अस्पतालमा भर्ना भएका बिरामीको १५ दिने तथ्याङ्कको विषयमा समीक्षा गरेका थियौँ । समग्रमा बिरामी भर्ना हुने अवस्थामा खासै फेरबदल भएको देखिएको छैन ।’’ आज सिमराको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम भने २० डिग्री सेल्सियस रहेको छ ।

अन्य तराई÷मधेसका जिल्ला मुलुककै सबैभन्दा ठूलो औद्योगिक नगरी पर्सामा  जनजीवन प्रभावित हँुदै आइरहेको छ । दिनको समयमा अत्यावश्यक काम परे मात्रै सर्वसाधारण बाहिर निस्कने गरेका छन् । अन्य दिनको तुलनामा सरकारी कार्यालयमा पनि सर्वसाधारणको भीड न्यून हुँदै आइरहेको छ । वीरगञ्जमा कपडा पसल गर्दै आइरहेका अनिल गुप्ता चर्को गर्मी बढेसँगै सर्वसाधारण किनमेलको लागि निकै कम मात्रै आउने गरेको बताउनुभयो ।

‘‘अहिले दिनको समयमा त अत्यावश्यक समान किनमेल गर्ने मात्रै आउने गर्छन,’’ उहाँले भन्नुभयो, ‘‘बिहान र  बेलुकीपख मात्रै पसलहरुमा भीडभाड लाग्ने गर्छ ।’’ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि आज सार्वजनिक सूचना जारी गरेर विगत केही दिनदेखि देशका अधिकांश भू९भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दूई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भू९भागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको थियो ।

महाशाखाले आगामी केही दिनसम्म तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले यही वैशाख १० गतेदेखि १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।