छविलाल पाण्डे
बुटवल, वैशाख १० गते । तराईमा गर्मी सुरु भएपछि सर्प उद्धारकर्ता चेतबहादुर (सारु कान्छा) को दैनिकी पनि व्यस्त बन्दै जान्छ । सारु कान्छाले सर्प उद्धार मात्रै होइन सर्पबाट बच्न हरेक वर्ष सचेतनाका कार्यक्रम सँगै झुल समेत वितरण गर्दै आउनुभएको छ ।
रुपन्देहीको सैनामैना १० पानबारी झिमझिमे निवासी सारु कान्छाले गरिब तथा विपन्न परिवारलाई झुल वितरण गरेर ठुलो गुन लगाउनु भएको छ । पछिल्लो समय सारु कान्छाको उपनामले चर्चित उहाँ सर्प उद्धार गरेर सामाजिक काममा उदाहरणीय मात्रै बन्नुभएको छैन, सर्पबाट बच्नको लागि गरिब तथा विपन्न समुदायलाई झुल समेत वितरण गर्दै आउनुभएको छ ।
शनिबार रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं. १० पानबारीमा सर्पदंशका घटनाबाट जोगिन सारु कान्छाले स्थानीय समुदायलाई प्रशिक्षणसँगै झुल समेत वितरण गर्नुभयो । सर्पदंशका घटना प्रायगरी रातीमा बढी हुनेगर्दछ । रातीमा सुतेको बेला सर्पले टोकेका घटना बढी सुनिन्छ । सारु कान्छाले जोखिममा रहेका समुदायमा पुगेर स्थानीय दुई युवा सँगको सहकार्यमा १५० वटा झुल वितरण गर्नुभएको छ ।
त्यसो त सारु कान्छाले गाउँघरमा सर्प देखिएमा सर्पको उद्धारमात्रै गर्दै आउनुभएको छैन, सर्पले टोकेका बिरामीलाई उपचारका लागि बुटवलसम्म पुर्याउन पनि पछि पर्नुहुन्न । पानबारीका समाजसेवी धर्म थापाले सारु कान्छाले समाजलाई लगाएको गुन तिरेर नसकिने बताउनुभयो ।
उहाँले सर्प उद्धारकर्ता भएरमात्र होइन सर्पबाट समुदायलाई र परिवारलाई समेत सुरक्षित बचाउन सर्पबाट जोगिन अपनाउनु पर्ने तरिकाका विषयमा सिकाउनुका साथै झुल वितरण गरेर सारु कान्छाले स्थानीय समुदायलाई ठुलो गुन लगाएको बताउनुभयो ।
स्थानीय युवा अर्जुन भुसालको भनाइमा तराईमा सर्पदंशका घटना मात्र होइन मच्छडका कारण मलेरिया र डेंगुको जोखिम समेत बढेको छ । यस्तो बेला सारु कान्छाले सर्पबाट पनि बच्न सकिने र मलेरिया, डेंगु लगायतका रोगबाट पनि बच्न सकिने गरी गरिब तथा निमुखा बर्गलाई झुल वितरण गरेर गरिबको सहयोग गरेको बताउनुभयो ।
सारु कान्छालाई सर्प उद्धारकै क्रममा दुई वर्षअघि गोमन सर्पले डसेको थियो । उहाँ आफै बल्लबल्ल बाँच्नुभयो । उहाँलाई यस्तो जोखिमको काम नगर्न घर परिवारबाट पनि दबाब आएको छ ।
सारु कान्छा भन्नुहुन्छ, ‘‘कतिखेर सर्पले टोकेर मरिने हो थाहा छैन तर सर्प उद्धार गर्ने, समुदायलाई सहयोग गर्ने र गरिब तथा निमुखा जनताको सेवामा लागिरहने मेरो उत्साहमा कमी हुन दिन्न । उहाँले सर्प उद्धार गर्दा कसैले दिने सहयोग सङ्कलन गरेर स्थानीय क्यान्सर पीडित तथा सुत्केरी महिलाहरूलाई वितरण गरेर अर्को पुण्य काम गर्नुभएको छ ।’’