• २४ असार २०८१, सोमबार

धुलोले तरकारी नष्ट

blog

सर्लाही समाचारदाता 

सर्लाही, वैशाख ६ गते ।  सडकको धुलोले सर्लाहीका तरकारी किसानलाई तरकारी उब्जाउनै समस्या भएको छ ।  सडक छेउछाउ खेत भएका किसानले सडकबाट उडेर तरकारीमा छपक्कै ढाक्ने धुलो पखाल्न दैनिक पानी छिट्ने गरेका छन् । धुलोका कारण मेहनतअनुसार तरकारी फलाउन नपाएको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरका किसान रामपुकार महतोले गुनासो गर्नुभयो । 

सर्लाहीको बाँके–सङ्ग्रामपुर सडककै छेउमा खेत रहेको महतोले धुलो पखाल्न दैनिक मोटरबाट पानी छिट्ने गर्नुभएको छ । जीर्ण सडक दायाँबायाँ खेत भएका जिल्लाका अन्य किसानले पनि महतोको जस्तै समस्या झेल्दै आएका छन् । 

पूर्व–पश्चिम हुलाकी सडक, बाँके–सङ्ग्रामपुर, सलेमपुर–हीरापुरलगायतका सडक छेउछाउ खेत भएका किसानले धुलोकै कारण अहिले कुनै पनि बाली राम्रोसँग उब्जाउन पाएका छैनन् । करेसामा समेत तरकारी उब्जाएर खान नपाएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । 

जिल्लामा अहिले अधिकांश सडक धुलाम्मे भएर पर–परसम्म धुलो उड्दा किसानले लगाएको खुर्सानी, भेन्डी, बोडी, काँक्रोलगायतका तरकारी बाली प्रभावित भएका छन् । पर्सा गाउँपालिका–४, का किसान पुनित यादवले जीर्ण हुलाकी सडकको धुलोले सडक छेउकै खेतमा तरकारी र अन्य बालीनाली उब्जाउन समस्या भइरहेको गुनासो गर्नुभयो । 

यादवले धुलोका कारण खेतबारीमा काम गर्न नसकेर बाँझै राख्नुपरेको बताउनुभएको छ । धुलोमा जसोतसो उब्जाएको तरकारी हेर्दा नै नराम्रो देखिने भएकाले बिक्री गर्न गाह्रो पर्ने गरेको किसानहरूको गुनासो छ ।