• २४ असार २०८१, सोमबार

जलाशययुक्त आयोजनामा लगानी बढाउन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ६ गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एसियाली विकास बैङ्कलाई नेपालको जलाशययुक्त आयोजनामा लगानी बढाउन आग्रह गर्नुभएको छ ।  ऊर्जा मन्त्रालयमा सोमबार भएको बैङ्कका उपाध्यक्ष सिचिन छिनसँगको भेटमा उहाँले सो आग्रह गर्नुभएको हो । सो भेटमा बैङ्कको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित आयोजनाको कार्यान्वयन अवस्थाबारे विचारविमर्श भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री भुसालले आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महŒवपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । ऊर्जा एवं सिँचाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको मन्त्री भुसालको भनाइ थियो । 

भेटका क्रममा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत् उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री भुसालले जलाशयुक्त विद्युत् आयोजनामा लगानी गर्न बैङ्कलाई आग्रह गर्नुभएको थियो । पूर्व–पश्चिम प्रसारण लाइन निर्माणमा पनि बैङ्कको थप सहयोग हुने अपेक्षा मन्त्री भुसालको थियो ।

पछिल्लो समय नेपाल–भारतबीच विद्युत् व्यापार सुरु भएको चर्चा गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीयस्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो पनि खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, “बङ्गलादेश, भुटान, भारत र नेपालबीच ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ । केही वर्षभित्र नै हामीले ती देशमा विद्युत् निर्यात गर्ने अवस्था आउँछ ।” 

त्यस अवसरमा बैङ्कका उपाध्यक्ष सिचिनले अन्तरदेशीय विद्युत् व्यापार नेपालका लागि महŒवपूर्ण सुरुवात भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भारतसँग ३६४ मेगावाट विद्युत् व्यापार गर्ने सहमति नेपालका लागि महŒवपूर्ण खुड्किला हो । यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु ।” 

जलस्रोतका क्षेत्रमा एसियाली विकास बैङ्कले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले बैङ्कको लगानीका १० वटा महŒवपूर्ण आयोजनाको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालिरहेको बताउनुभयो । उहाँले विद्युत्को आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइला खपत गर्ने उद्योगमा बिजुली तत्काल पु¥याउनुपर्नेमा जोड दिनुभयो । 

भेटमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बैङ्कका तर्फबाट नेपालका लागि देशीय निर्देशक आरर्नोड काउसिसलगायतका उच्च अधिकारीको सहभागिता थियो ।