• १२ साउन २०८१, शनिबार

नेपालगन्जका होटल भरिभराउ

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख १० गते । नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम ह्वात्तै बढेको छ । खास गरी भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेर त्यसको प्रचारप्रसार तीव्र पारिएकाले भारतीय पर्यटकहरू आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । 

उहाँले नेपालगन्जबाट माउन्टेन उडान सुरु गरिएलगत्तै कैलाश जानका लागि ठुलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक आउन थालेको र अझै धेरै यहाँ आउन बुकिङ गराएको जानकारी प्राप्त भएको बताउनुभयो । त्यसबाट नेपालगन्जका अधिकांश ठुला होटल भरिभराउन हुन थालेपछि होटल व्यवसाय पुनः एक पटक फस्टाउन लागेको अध्यक्ष सिग्देलको भनाइ छ । यो साता मात्रै पाँच सय बढी भारतीय दर्शनार्थीहरू कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगन्ज पुगेको हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताउनुभयो । 

उहाँले तीमध्ये तीन सय जना भारतीय आफ्नो होटल सिद्धार्थ भ्युमा बसेको जनाउँदै ती पर्यटकका कारण होटल व्यवसाय फेरि फस्टाउने आशा पलाएको बताउनुभयो । उपाध्यक्ष न्यौपानेका अनुसार, नेपालगन्जका अन्य होटलमा पनि दुई सय बढी भारतीय पर्यटक पुगेको बताउनुभयो ।

सोही प्रकारले करिब तीन सय नेपाली धार्मिक पर्यटक पनि मानसरोवर दर्शनका लागि नेपालगन्ज पुगेको जनाइएको छ । होटल व्यवसायी न्यौपानेले थप्नुभयो, “यतिबेला कैलाश मानसरोवर दर्शनका कारण तारे होटलमा भारतीय पर्यटक भरिभराउ हुने अवस्था सिर्जना भएको छ, चैते दसैँ, रामनवमीलगायतका पर्व मात्रै होइन यसको आकर्षणले पर्यटक निरन्तर आउने सम्भावना देखाएको छ ।” माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शनको अझै पनि भारतमा धेरै प्रचारप्रसार हुन नसकेको जनाउँदै पर्यटन प्रवर्धन मन्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले राम्ररी प्रचारप्रसार गर्ने हो भने नेपालगन्जले धान्न नसक्ने गरी भारतीय पर्यटक ओइरिने बताउनुभयो । 

उहाँले नेपालगन्ज भारतको लखनउ, दिल्ली, गाजियाबाद, गोरखपुर, कानपुर, बाराबङ्की, आगरा र अयोध्यालगायतका ठुला सहरहरूबाट निकै नजिक रहेकाले भारतीयहरू यहाँ पुगेर यहाँबाट माउन्टेन उडानमार्फत कैलाश मानसरोवर दर्शन गर्न जान सक्ने भएकाले यसले बाँकेको आर्थिक विकासमा ठुलो टेवा दिने विश्वास गरिएको बताउनुभयो ।

अझै यो महिनामा धेरै भारतीय पर्यटक नेपालगन्ज पुग्ने जानकारी विभिन्न पर्यटन व्यवसायीद्वारा जानकारी पाएकाले आफूहरू निकै उत्साहित बनेको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो । उहाँले अझै पनि कैलाश मानसरोवर दूरदर्शनको प्रचारप्रसार भारतको ठुला सहरमा गर्न बाँकी नै रहेकाले सो गरिए पर्यटक अत्यधिक बढ्ने बताउनुभयो ।