• २३ वैशाख २०८१, आइतबार

तराईमा तातो हावा, जनजीवन प्रभावित

blog

सर्लाही सदरमुकाम मलङ्गवा बजार । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, वैशाख ९ गते । सर्लाहीसहित तराई क्षेत्रमा तातो हावाले जनजीवन प्रभावित बनेको छ । यहाँ विगत एक सातादेखि दिनभर टन्टलापुर घाम र अत्यधिक तातो हावा समेत चल्न थालेसँगै जनजीवन प्रभावित बनेको हो । 

तातो हावाले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्किएका सर्वसाधारण र मोटरसाइकल चालक बढी प्रभावित भएका छन् । तातो हावा र टन्टलापुर घामका कारण अति आवश्यक काम परेर सडक, बजारमा निस्कनुपर्नेहरु प्रभावित बनेका छन् । 

विशेषगरि, मजदुरीमा निस्किएका मजदुर र खेतबारीको काम गर्नुपर्ने किसानहरूलाई चिकित्सकले अहिले चलेको तातो हावा असाध्यै दूषित रहेकाले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । 

नगर अस्पताल ईश्वरपुरका इन्चार्ज डा. दीर्घनारायण दासले धुलोसहित अत्यधिक तीव्र गतिमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण गढ्ने जोखिम अत्यधिक हुने बताउनुभएको छ । उहाँले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, अस्वस्थकर खानेकुरा नखान र स्वस्थ रहने उपाय अपनाउन सुझाव दिनुभएको छ । 

डा. झाले गर्मी र तातो हावाका कारण मानिसमा टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्या बढ्ने बताउनुभयो । यस्तो मौसममा बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको अझ बढी ख्याल गर्नुपर्ने चिकित्सकको भनाइ छ । 

यस्तै तीव्र गतिमा तातो हावा चल्न थालेसँगै तरकारी, मकैलगायतका अन्य बालीनाली सुक्ने भन्दै किसान चिन्तित बनेका छन् । हरिपुर नगरपालिका–२, सखुवा मौजाका किसान ध्रुवप्रसाद प्रसाईँले अत्यधिक तातो हावा चल्दा वर्णशङ्कर (हाइब्रिड) मकैबाली सुक्ने चिन्ता परेको बताउनुभयो । 

तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम अत्यधिक रहेकाले चुल्होमा खाना तथा कुँडो पकाएपछि आगो राम्रोसँग निभाउन, बालबालिकालाई आगोजन्य पदार्थ नदिन, चुरोट तथा बिँडी पिएर जथाभाबी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।