• २३ वैशाख २०८१, आइतबार

विद्यार्थी भर्ना अभियानलाई परिणाममुखी बनाउन घरदैलो कार्यक्रम

blog

बौद्धीमाई नगरपालिकाले विद्यार्थी भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम । तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र 

गौर, वैशाख ९ गते । रौतहटको बौद्धीमाई नगरपालिकाले विद्यार्थी भर्ना अभियान अन्तर्गत आइतबार नगरक्षेत्रमा घरदैलो कार्यक्रम गरेको छ । बाद्धीमाई नगरपालिकाको ९ वटै वडामा बिहानैदेखि विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत घरदैलौमार्फत् आ-आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न अभिभावकहरूलाई जागरूक तुल्याएको हो ।

नगरप्रमुख प्रदीप कुमार यादवको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका लगायत सरोकारवाला सहितले विभिन्न खाले प्ले कार्ड हातमा बोकी बौद्धीमाई नगरपालिका कार्यालयबाट सुरुवात गर्दै वडा नं. ९ हुँदै वडा नं.१ स्थित गएर सम्पन्न भएको थियो । ९ वटै वडाको परिक्रमा गरी विद्यालय भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै बौद्धीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवले शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिकालाई वञ्चित हुन नदिन सबै अभिभावकलाई आ-आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नुभयो ।

नगरप्रमुख यादवले विद्यार्थी भर्ना अभियान कार्यक्रम वैशाख २ गते देखि नै सञ्चालन गरिएको बताउँदै उहाँले आजदेखि ९ दिनसम्म नगरक्षेत्रमा विद्यार्थी भर्ना अभियान कार्यक्रमलाई फलदायी तथा परिणाममुखी बनाउन आज पुरै नगरक्षेत्रमा घरदैलो गरिएको तथा क्रमशः सडक नाटक ,जनचेतनामूलक लगायत विभिन्न कार्यक्रम गरिने बताउनुभयो । विद्यार्थी भर्ना अभियान विगतमा प्रभावकारी ढङ्गले सञ्चालन नहुँदा नेपाल सरकारको शिक्षा नीति बमोजिम उपलब्धि हासिल गर्न नसकिएको प्रति चिन्ता व्यक्त गर्दै नगरप्रमुख यादवले यसपालि हामी विद्यार्थी भर्ना अभियानबाट सबै बालबालिकालाई शिक्षाको पहुँच तथा सुनिश्चितताको लागि पर्वको रूपमा लिएको बताउनुभयो ।

विद्यार्थी भर्ना अभियान पश्चात् यसको समीक्षा गरी नगरपालिकाले पनि विद्यालय बाहिर देखिएको बालबालिकाको अभिभावकलाई बोलाएर सम्झाउने बुझाउने तथा उहाँको आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई आवासीय विद्यालय सञ्चालन गरी उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउने योजना रहेको स्पष्ट पार्नुभयो ।

नगरप्रमुख यादवले यदि कुनै पनि अभिभावकले सबै व्यवस्था हुँदाहुँदै पनि बालबालिकालाई विद्यालय पठाउन चासो नलिएमा नगरपालिकाबाट पाउने सबै सेवा सुविधाबाट वञ्चित गरिने तापनि नमान्ने त्यस्ता अभिभावकलाई बालश्रम ऐन अन्तर्गत कार्यवाही गरिने चेतावनी समेत दिनुभयो ।