• २७ वैशाख २०८१, बिहिबार

एघारौं दिनसम्म पनि भीमाकाे शव अस्पतालमै

blog

उपचार गर्ने क्रममा दैलेखकी भीमा गुरुङको मृत्यु भएपछि न्यायको माग गर्दै परिवार । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, वैशाख ९ गते । गत चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी २२ वर्षीय भीमा गुरुङको शव परिवारले बुझ्न मानेका छैनन् । शव ११ दिनदेखि प्रदेश अस्पतालमै छ । 

उपचारको क्रममा दैलेखको आठबीस नगरपालिका–५ पीपलकोटकी २२ वर्षीय गुरुङको मृत्यु भएको थियो । घटनाको छानबिन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक गुरुङको शव बुझ्न नमानेका हुन् । 

भीमाका ससुरा धनबहादुर बलामीले चिकित्सकको टोलीले अप्रेसनमा लापरबाही गर्दा बुहारीको मृत्यु भएको बताउनुभयो । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको उहाँको भनाइ छ । नातिनीको पालनपोषण र शिक्षा, स्वास्थ्यको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा उपचारमा लापरबाही गर्नेलाई कारबाहीको माग गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले लिखित रूपमा मागको सम्बोधन नगरेसम्म शव नबुझ्ने परिवारले जनाएको छ ।

भीमालाई तल्लो पेट दुख्ने र रगत बग्ने समस्यापछि उपचारका लागि पुर्‍याउँदा कर्णाली प्रदेश अस्पतालमा ज्यान गएको हो । सामान्य उपचारकै क्रममा ज्यान जानु डाक्टरको गम्भीर लापरबाही भएको भन्दै उहाँले छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । सरकारले मौखिक रूपमा सहमति जनाए पनि लिखित रूपमा प्रक्रिया नचालेको परिवारको आरोप छ । शुक्रबार मुख्यमन्त्री यामलाल कँडेलसँग पीडित परिवारले क्षतिपूर्तिको मागसहित छलफल गरेका थिए । सरकारले पीडित पक्षसँग छलफल गरेको भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

गम्भीर रोगकै कारण भीमाको मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताउनुभयो । उहाँका अनुसार उपचारका लागि आएकी महिलामा ‘मोलार प्रेग्नेन्सी’ भएको थियो । यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरूमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौंमध्ये एक महिलामा यस प्रकारको समस्या हुने डा. खड्काको तर्क छ । मोलार प्रेग्नेन्सी एक प्रकारको सालको ट्यूमर भएकोले यसलाई सफा गर्नुपर्ने उहाँको भनाइ छ । संसारका जुनसुकै मुलुकमा पनि यस प्रकारको दुर्लभ समस्याको उपचार सम्भव नभएको डा. खड्काको दाबी छ । खड्काले पीडित पक्षसँग छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको जानकारी दिनुभयो ।

छानबिन गर्न सांसदको माग

भीमा गुरुङको विषय प्रदेशसभामा समेत उठेको छ । कांग्रेस सांसद घनश्याम भण्डारीले गुरुङको मृत्यु घटनाको सत्यतथ्य छानविन गर्न माग गर्नुभएको छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आठौं बैठकमा बोल्दै भण्डारीले छिटोभन्दा छिटो शव उठाउने वातावरण सिर्जना गर्न सुझाव दिनुभयो । "प्रदेश अस्पताललाई गौरवको रूपमा मानिए पनि त्यहाँ मृत्युका घटनाहरू भएका छन्," भण्डारीले भन्नुभयोे, "त्यो मृत्यु डाक्टरहरूको प्राविधिक कारणले भएको हो वा के हो ? त्यो विषयमा छानबिन गरेर अघि बढ्नुपर्छ ।"

नेकपा (माओवादी केन्द्र)का सांसद रणसिंह परियारले लामो समय भइसक्दा पनि भीमाको शव किन नउठेको भनी प्रश्न गर्नुभयो । मृत्यु भएको लामो समय भइसक्दा पनि परिवारले शव नबुझेको भन्दै उहाँले घटनाको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । "हिँडेर अस्पताल पुगेकी युवतीको एक्कासि मृत्यु घोषणा गरिएको भन्ने कुरा बाहिर आएको छ," परियारले भन्नुभयो, "खास भएको के हो ? यो घटनाले समग्र कर्णाली प्रदेशका जनताहरूलाई प्रभाव पार्ने गरेर घटना आएको छ । अहिले पनि शव अस्पतालबाट उठाउन परिवारले मानिरहेका छैनन् ।"

शव लामो समयसम्म अस्पतालमा राख्नुले अस्पताल र प्रदेश सरकारमाथि प्रश्न उठिरहेको नेकपा (एकीकृत समाजवादी)की सांसद कल्याणी खड्काले बताउनुभयो । सत्यतथ्य छानबिन गरेर छिटोभन्दा छिटो उचित व्यवस्थापन गर्न उहाँले सरकारलाई आग्रह गर्नुभएको छ । यसैबिच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले पीडितले कानुनी उपचारको बाटो रोज्नुपर्ने बताउनुभयो । नारा जुलुस गर्नुभन्दा कानुनी उपचारतर्फ लाग्नुपर्ने भन्दै उहाँले सरकारले घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, "११ दिनसम्म प्रदेशकै ठूलो अस्पतालबाट शव नउठ्नु, सरकार गम्भीर नबनेको बुझिन्छ । छुट्टै छानबिन समिति बनाउनुपर्छ ।"

उक्त घटनामा नागरिक दबाब आवश्यक रहेको मानव अधिकारकर्मीहरूको भनाइ छ । महिला सशक्तीकरण मञ्च दैलेखका अध्यक्ष सुनिता चन्दले लामो समयसम्म अस्पतालबाट शव नउठ्दा पनि सरकार बेखबर बनेको बताउनुभयो । घटना भएको ११ दिनसम्म छानविन समिति नबन्नु, सरकारले घटनालाई बेवास्ता गरेको देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, "प्रदेश सरकारको आँगनमै यस्ता घटना हुँदा सरकार के हेरेर बसेको छ ? अस्पताल प्रशासन पनि गैरजिम्मेवार बनेको छ । सत्यतथ्य छानबिन हुनुपर्छ ।"

यसअघि पनि भएका थिए सोही प्रकृतिका घटना

२०७८ असोज २३ गते दैलेखको नारायण नगरपालिका–४ की साढे दुई वर्षीय बालिका कुसुम कटुवालको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भयो । परिवारका सदस्यले कुसुमको सहज उपचार हुने आशासहित उपचारका लागि प्रदेश अस्पताल ल्याएका थिए । नाकमा मकैको दाना अड्किएर श्वासप्रश्वासमा समस्या भएपछि कुसुमको उपचारका लागि अस्पताल ल्याइएको थियो ।

यस्तै, २०८० भदौ ३१ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–२ की जानकी रेग्मीको मृत्यु भयो । उहाँलाई सुत्केरी व्यथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो । समस्या नदेखिए पनि सुत्केरी भएको दुई दिनपछि उहाँको मृत्यु भएको अस्पतालले घोषणा गर्‍याे ।