• २२ वैशाख २०८१, शनिबार

आगलागी हुँदा पाँच घर र गोठ जलेर नष्ट

blog

आगलागीबाट क्षति भएको घर ।

रेखीराम राना

तानसेन, बैशाख ८ गते । जिल्लाको माथागढी –४, झडेवास्थित मकलेको जामुनडाँडा र गढीबारीमा आगलागी हुँदा पाँच घर र गोठ जलेर नष्ट भएको छ । शनिबार दिउँसो स्थानीय खमीसरा काम्मुको गोठमा लागेको आगो फैलिएर छिमेकी पाँच जनाको घर तथा ६ वटा गोठमा आगो लागेको हो । 

आगलागीबाट चार वटा घर, पाँच वटा गोठ, लैना भैसी, गोरु, १५ वटा बाख्रा, लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको पीडितको भनाइ छ । आगलागीबाट काम्मुसहित रामबहादुर सुनार, राजन विक, भुवनसिंह सुनार, दिलकुमारी विक र कौशलप्रसाद श्रेष्ठको घरगोठमा क्षति पुगेको माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो । 

आगलागीबाट क्षति पुगेको परिवारलाई सुरक्षित स्थानमा सार्ने र तत्काल खाद्यान्न सामग्री वितरण गर्ने काम भएको उहाँले बताउनुभयो । गाउँबाट सुरु भएको आगो अहिले जङ्गलमा फैलिएको माथागढी–४ का अध्यक्ष शंकर दर्लामीले बताउनुभयो । स्थानीय जनप्रतिनिधि, नेपाली सेना, जनपथ प्रहरी र सशत्र प्रहरीसहित स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएको दर्लामीले बताउनुभयो । 

यसैबिच शनिबार जिल्लाको तानसेनस्थित बतासेडाँडा, श्रीनगरडाँडामा भीषण आगलागी भएको छ । दिउँसो हावाहुरीका कारण जङ्गलमा लागेको आगो फैलिएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार शनिबार दर्जनौँ स्थानमा आगलागी भएको र तानसेन, माथागढी, तिनाउ, रिव्दीकोटलगायतका स्थानमा आगलागी भएको छ । क्षतिको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।