पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख ६ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नेपालकै दोस्रो योगनगर बनाउने महत्वाकाङ्क्षी अभियान अघि बढाएको छ । स्वस्थ जीवनशैली र योग संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले नेपालकै दोस्रो योग नगरको रूपमा स्थापित गर्ने यस अभियानले स्थानीयस्तरमा स्वास्थ्य सचेतना जगाउनुका साथै नागरिकलाई योगको माध्यमबाट निरोगी बनाउने लक्ष्य राखेको छ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार योगनगर निर्माण गर्ने यस अभियानमार्फत नगरपालिकाले नागरिकको मानसिक र शारीरिक स्वास्थ्य सुधार गरी सचेत र स्वस्थ समाज निर्माण गर्ने सङ्कल्प लिएको छ ।
नगरपालिकाले योगलाई केवल व्यायामका रूपमा मात्र नभई दैनिक जीवनशैली बनाउन नगरका विभिन्न स्थानहरूमा नियमित योग शिविर र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। नगरपालिकाले वडा–वडामै योग साधना केन्द्रहरूको स्थापना र सहकार्यलाई प्राथमिकतामा राखेको छ।
यसले गर्दा सर्वसाधारणले घरदैलोमै योग सिक्ने अवसर पाएका छन् । विशेषज्ञ प्रशिक्षकहरूको उपलब्धता र स्थानीय सरकारको सक्रियताले गर्दा बर्दघाट छिट्टै नै नेपालको एउटा नमुना योग नगर बन्नेमा स्थानीय बासिन्दाहरू आशावादी देखिएका छन् ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार बर्दघाट नगरपालिकाले स्वस्थ नगर निर्माणको अवधारणालाई आफ्नो नीति तथा कार्यक्रममा उच्च प्राथमिकताका साथ राखेको छ। उहाँले भन्नुभयो “योग र ध्यानले नागरिकको शारीरिक स्वास्थ्य र मानसिक तन्दुरुस्तीमा निकै ठुलो सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता व्यावहारिक शिविरलाई नगरपालिकाले निरन्तर प्रोत्साहन गरिरहेको छ। यस अभियानलाई निरन्तरता दिँदै बर्दघाटलाई नेपालकै नमुना योगनगरका रूपमा स्थापित गर्न प्रतिबद्ध छौँ।’
यो अभियानले बर्दघाटलाई एक स्वस्थ, शान्त र अनुशासित सहरका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। बर्दघाटलाई योगको माध्यमबाट राष्ट्रियस्तरमै चिनाउने हाम्रो सपना हो। योगले नागरिकको स्वास्थ्यमा सुधार ल्याउँछ र स्वास्थ्य नागरिकले नै समृद्ध नगरको निर्माण गर्छन्। यस अभियानमा नगरका सबै वडा र सङ्घ संस्थाहरूको हातेमालो आवश्यक छ।