• १२ साउन २०८१, शनिबार

प्रतीक्षा (कथा)

blog

लामो यात्रापछिको थकान र झरीको सङ्गीतले गर्दा ब्युँझेर पनि बिस्तरा छोड्न पटक्कै मन थिएन । “शुभ प्रभात सर ! सरलाई चियाका लागि तल कसैले प्रतीक्षा गरिरहेको छ ।” एक्कासि आएको आवाजले झसङ्ग भएँ । यो नयाँ ठाउँमा मेरो प्रतीक्षा गर्ने को हुन सक्छ ? अचम्ममा परेँ । क्याम्पसको सञ्चालक समितिका मान्छे होलान्, केही विशेष कुराका लागि आएका भन्ने लाग्यो । आखिर क्याम्पसमा स्नातक तह सञ्चालनका लागि अनुमति दिने सम्बन्धमा अनुगमन गर्न मलाई विश्वविद्यालयले खटाएर यति टाढा कच्ची बाटोमा जीवनलाई हत्केलामा राखेर आएको थिएँ । म यतिबेला विद्यालयका प्रधानाध्यापकका घरमा छु जसले गाउँमै स्नातकसम्म अध्ययन हुने कलेज बनाउन प्रयास गरिरहेका छन् भन्नेभन्दा बढी मलाई यहाँका बारेमा केही थाहा थिएन, यो थाहा नहुनु नै मेरा लागि बडो आनन्दको विषय थियो । 

नित्यकर्म सकेर भान्साघरभित्र छिर्दा अँध्यारो थियो, त्यहाँ मान्छे छन् भन्नेसम्म थाहा हुन्थ्यो तर अनुहार स्पष्ट छुट्याउन नसकिने । भान्साकोठाको छेउमा राखिएको कुर्चीबाट जुरुक्क उठेर एउटी केटीले बडो विनम्रताका साथ नमस्कार गरी, सन्चोबिसन्चो सोधी र सोधी यात्राका बारेमा पनि । उसको कुरा गराइबाट लाग्थ्यो, ऊ मलाई वर्षौंदेखि चिन्छे । अनुहार स्पष्ट नदेखिए पनि कुनै कन्दरामा प्रतिध्वनित भएर निस्किए झैँ लाग्ने आवाज कहीँ त सुनेकै हो भन्ने लाग्यो । “सरले मलाई सम्झनु भएन, सम्झनु पनि कसरी यतिका वर्षसम्म ? सरहरू माथि बार्दलीमा बस्दै गर्नुहोला म चिया लिएर माथि नै आउँछु ।” उसको निर्देशन सुनेर आज्ञाकारी विद्यार्थी झैँ हामी भ¥याङ चढेर बार्दलीमा गयौँ । आँखै अगाडि ठोक्किन आउने महाभारत पर्वत शृङ्खला र त्यसको छाती चिरेर बनेका घाउ झैँ देखिने मोटर बाटोबारे छलफल गर्न थाल्यौँ । हिजो यही बाटो कटेर आएको थिएँ, सम्झेर मुटु जिरिङ्ङ भयो एकपल्ट । 

मुखले प्रधानाध्यापकसँग कुरा गरिरहे तापनि मेरो ध्यान भने भान्साकोठातिरै थियो तर अनुहारमा मानसिक छटपटी नदेखियोस् भन्ने कुरामा सचेत थिएँ । केही समयपछि किस्तीमा चियाका कप राखेर भ¥याङ्ग उक्लँदै गरेकी ऊसित अचानक आँखा जुध्यो । उही रहस्यमय गहिरा आँखा, उही गम्भीर अनुहार ! मुटुको धड्कन अचानक तेज गतिमा चल्न थाल्यो, बोल्ने कुनै शब्द आएन । अनुहारमा देखिएको सुखद आश्चर्यलाई चियाको बाफले छोप्ने प्रयास गरेँ ।

चिया पिइसकेपछि जुरुक्क उठेर उसैले बोली, “विद्यालयको कार्यक्रम भोलि छ, आज शनिबार पनि हो, आजको दिन सरलाई घुमाउने जिम्मा मेरो, हजुरहरूलाई केही आपत्ति त छैन नि ?” हाम्रो अनुहार पालैपालो हेर्दै सोधी उसले । 

घरपछाडिको सानो गोरेटोबाट अगाडि लागी ऊ । म आज्ञाकारी बनेर पछिपछि डोरिएँ । 

प्रधानाध्यापकलाई गरेको सम्बोधन र नमस्कारबाट यति त अड्कल काटिसकेको थिएँ कि ऊ मैले अनुमान गरे झैँ उनीहरूकी छोरी थिइन् । यस कुराले त्यति आश्चर्यमा पारेन मलाई जति यतिका वर्षपछि ऊ अचानक भेटिएकोमा परेको थियो । केही समय तेर्सो हिँडेपछि हामी उकालो लाग्यौँ । राति परेको पानीले बाटो ओभानो भइसके पनि झरीले भिजाएको माटोको सुगन्धले मलाई मोहित बनाइरहेको थियो । बेला बेला पछाडि फर्केर मलाई गाह्रो भयो कि भनेर सोध्नेभन्दा बढी हाम्राबिचमा केही कुराकानी भएन । 

यसरी अपरचित बाटोमा हिँड्नु रमाइलो लागे पनि यो मौनता कत्ति सह्य भएन । हामीबिचको मौनतालाई चिर्दै मैले नै कुरा थालेँ, “विश्वविद्यालयबाट अचानक गायब भयौ तिमी त !” मेरो कुरा सुनेर ऊ टक्क अडिई र पछाडि फर्केर मेरा आँखामा हेरी । उसको हेराइमा उही रहस्य थियो र अनुहार उस्तै गम्भीर ! “सरले बिर्सनुभएको छैन मलाई ?” यति प्रश्न सोधेर उसले फेरि पाइला अगाडि बढाई मेरो उत्तरको प्रतीक्षै नगरी ।

हामी अब ढुङ्गा छापेको उकालो बाटो छोडेर कच्ची मोटर बाटोमा निस्कियौँ । उसले हिँड्दाहिँड्दै अलिकति परको गाउँ देखाएर भनी, “ऊ त्यहीँ हो हाम्रो घर !” केही समयमै मोटर बाटोले हामीलाई उसले देखाएको गाउँसम्म पु-यायो । उकालोको टुप्पोमा रहेको ठुलो पोखरीमा केही हाँसका जोडी, रुखका छायाबाहेक यति बेला एक जोडी मान्छेका छाया पनि तैरिरहेको थियो । 

टिनले छाएको सानो चिटिक्क पारेको घरको सिमेन्टले प्लास्टर गरिएको पिँडीमा छोपेर राखिएको मोटरसाइकल बाहिरैबाट देखिन्थ्यो । “भित्र जाऊँ न सर !” ढोका खोलेर भित्र पस्यौँ । झ्यालका पर्दाहरू हटाई, कोठा उज्यालो भयो । पस्नासाथ एउटा ठिक्कको कोठा, दायाँतिर अर्को कोठा, केही कुर्सीहरू, दराजमा सजाइएका परम्परागत भाँडाकुँडा र हस्तकलाका सामानहरू तथा भित्ताभरि झुन्ड्याइएका तस्बिरहरूले कोठा सुन्दर देखिन्थ्यो । तस्बिरमा एकोहोरो हेरिरहेको मलाई भित्ताको एउटा तस्बिर देखाउँदै भनी, “यो हाम्रो परिवार ! बुवा, आमा, दाइ र म । आमा अब यो संसारमा हुनुहुन्न ।” यति भन्दा उसको गला अवरुद्ध भयो । “अनि बुवा र दाइ खै त ?” सोध्न मन भएर पनि बोल्न सकिनँ । उसलाई उसकै संसारमा छाडिदिएर कुर्सीमा बसेँ । एकैछिनमा तातो चियाको कप मेरो हातमा दिँदै भनी, “हजुरलाई अल्छी लाग्यो भने यताको कोठामा बस्न सक्नुहुन्छ, मैले खाना बनाउँछु ।” ऊ भान्सा कोठामा छिर्नासाथ चियाको कप बोकेर छेउको अर्को कोठामा छिरेँ । छिर्नासाथ आश्चर्य लाग्यो । कुनै चर्चित लेखक या प्रोफेसरको निजी पुस्तकालयभन्दा कम थिएन त्यो । दराजमा सजाइएका एकएक पुस्तकहरू हेर्दै गएँ । अध्यात्म रामायणदेखि इलियाड र ओडिसीसम्म, बुद्धको जीवनीदेखि गोर्कीको आमासम्म, माधवीदेखि बुभाएरको द सेकेन्ड सेक्ससम्म ! यो केटी त्यसै त्यति गहिरा प्रश्न सोध्न सक्ने पक्कै भएकी होइन, साँच्चै रहस्यमय छे यो । राजधानी सहरमा बसेर विश्वविद्यालयको प्रोफेसर भइसकेको मान्छेले आफ्नो पुस्तकालयलाई चार कुनाबाट फोटो खिच्दै सामाजिक सञ्जालमा पोस्ट्याउने म जस्ता मान्छेलाई गिज्याइरहे झैँ लाग्यो यसले । टेबुलमा छरिएर रहेका लेख्दालेख्दै बिचमा छाडेका झैँ देखिने डायरी पढ्न मन लागेर पनि पल्टाउने हिम्मत आएन । त्यहाँबाट सुटुक्क बाहिर निस्केर पोखरीको डिलतिर लागेँ ।

    विश्वविद्यालयको भरिभराउ कक्षाकोठा, रङ्गीबिरङ्गी कपडामा सजिएका युवायुवती, सबैका साना ठुला आआफ्नै समूह तर कुनै समूहमा अटाउन नसकेकी एउटी केटी जो कक्षाको अगाडि कुनामा छुट्टै कुर्सीमा बसेकी हुन्थी । अक्सर मौन रहने ऊ आफ्नै संसारमा हराए जस्ती देखिन्थी । उसका रहस्यमय आँखाहरू, समुद्रको गहिराइबाट निस्के झैँ सुनिने गहिरो आवाज, पढाउँदा पढाउँदै सोध्ने सीमित तर अनौठा प्रश्नहरूले मेरो मनको शान्त तलाउमा ढुङ्गा फाले झैँ अनेकौँ तरङ्ग ल्याइदिन्थ्यो । एक दिन ‘उर्वशी’ खण्डकाव्यको भावमा मग्न भएर पढाउँदै थिएँ । कुनै कन्दरामा ठोक्किएर प्रतिध्वनित भए जस्तो गहिरो आवाजमा अचानक प्रश्न सोधी, “सम्भोगको प्रस्ताव अस्वीकर गर्दैगर्दा अर्जुनले उर्वशीलाई ‘आमा’ भनेर नै किन सम्बोधन गरे होलान् सर ?” कहिले ईश्वर बल्लभका कवितामा हिन्दु दर्शनको प्रभावबारे जिज्ञासा राख्थी । उसका प्रश्न यस्तै असामान्य र गम्भीर हुन्थे, मेरो अपेक्षा र कल्पनाभन्दा धेरै बाहिरका । जब उसले प्रश्न गर्थी पूरै कक्षा शान्त हुन्थ्यो ।

वर्षैपिच्छे सयौँ विद्यार्थी आउँछन् जान्छन्, यही सत्यमा अभ्यस्त भएको यो मन उसको आकस्मिकको अनुपस्थिति किन किन कत्ति सह्य हुन सकेन । दोस्रो वर्षको पढाइ पूरा हुनुअगाडिदेखि नै ऊ कक्षामा आउन छाडेकी थिई । हरेक दिन कक्षामा प्रवेश गरेपछि ऊ बस्ने ठाउँ हेर्थें । रित्तो कुर्सीले मलाई गिज्याए झैँ लाग्थ्यो । हरेक पात झरेर जाने हुन् शिशिरमा, वसन्तमा फेरि नयाँ पलाउँछन् । यो सत्य जान्दाजान्दै पनि वृक्षलाई कुनै एउटा पात झरेर जाँदा यस्तो पीडा हुन्छ कि त्यो घाउ घरी घरी सुम्सुम्याइरहन मन लागोस् ।

“खाना तयार छ सर !” कतिबेला मेरै नजिक आएर उभिएकी रहिछ, आवाजले झस्केँ । खाना खाइसकेपछि मोटरसाइकल आँगनमा निकाली । सोधेँ, “कहाँ लान्छ्यौ मलाई घुमाउन ?” पश्चिमतिरको अग्लो डाँडो देखाएर भनी, “ऊ त्यो डाँडोमा !” म खुसी र आश्चर्यले झन्डै चिच्याएँ, “आजै पुगिन्छ ?” ऊ मलाई हेरेर मुस्कराई । मैले पहिलो पटक उसलाई हाँसेको देखेँ । मुस्कुराउँदा झन् सुन्दर देखिई । 

गाउँको धुलाम्मे सडक पार गरेर उकालो लागेपछि ढकमक्क गुराँस फुलेको घना जङ्गलमा पुग्यौँ । यति धेरै गुराँस फुलेको वन पहिले कहिल्यै देखेको थिइनँ । यो वासन्ती वनले मलाई यसरी मोहित पा¥यो कि कहाँ कोसित छुु भन्ने पनि बिर्सिएछु । कोटको खल्तीबाट मोबाइल निकालेर फोटो खिच्न थालेको थाहा पाइछ सायद “माथि भन्ज्याङ्बाट अझै राम्रो देखिन्छ सर !” अगाडिबाट चिच्याई । 

लाकुरीको ठुलो बोटमा ढुङ्गा छापेर बनाइएको चौतारीमा टुसुक्क बसेर ऊ मेरो अनुहारको उत्साह पढिरहेकी थिई सायद । म चकचके बच्चा झैँ घरी यता र घरी उता फर्किएर तस्बिर लिइरहेको थिएँ । ढकमक्क फुलेका गुराँस पृष्ठभूमिमा पारेर उसैले मेरा केही तस्बिर खिचिदिई । “तिमी पनि आऊ न, म खिचिदिन्छु ।” मन भएर पनि यसो भन्न सकिनँ । अघि पुग्ने भनेको डाँडोलाई बायाँतिर छोडेर मोटरसाइकल दायातिर तेर्सै हुँइकियो । “अब हामी त्यो डाँडो चढ्दैनौँ ?”आफँैलाई प्रश्न गरेँ । केही मिनेटको यात्रापछि आएको गाउँमाथिको चौतारोमा मोटरसाइकल रोकेर भनी, “अब हामी पैदल हिँड्नु पर्छ सर, उकालै उकालो ।” मैले मुस्कराएर उसको दुविधा मेटाइदिएँ । केही समय उकालो चढेपछि हामी डाँडाको टुप्पोमा पुग्यौँ । वरिपरि देखिएका सारा पहाडलाई तलै छाडेर एक्लै उभिएको चुचुरोमा पुग्दा लाग्यो, सारा संसारलाई तल छाडेर म आपूm शिखरमा उभिएको छु ।

“यहाँ नआएको भए मैले जीवनकै स्वर्णिम अनुभूति गुमाउने रहेछु ।” वरिपरिको दृश्य हेर्दै बिस्तारै बोलेँ म ।

“म प्रायः यहाँ आइरहन्छु ।”

“एक्लै ? यस्तो सुनसान छ, डर लाग्दैन ?” निडरताभन्दा पनि उसको रहस्य बुझ्न सोधेको थिएँ यो प्रश्न ! ऊ चुपचाप भुइँमा बसी, आफ्नो गाउँलाई आँखा अगाडि पारेर, म पनि त्यसै गरेँ । के थियौ तिम्रो मौनताको कारण ? किन थियो आँखामा गम्भीर उदासी ? किन कोही साथीहरूको समूहमा हाँस्दै गरेकी भेटिन्नथ्यो तिमीलाई ? परिवारका नाउँमा किन कोही छैन घरमा ? किन हरायौ अचानक विश्वविद्यालयको कक्षाबाट ? सोध्नु थियो अनेकौँ प्रश्न र थियो समय केवल आजको दिन ऊसित हुनलाई । 

“मोटरसाइकल राम्रो चलाउने रै’छौ !” लामो मौनतालाई तोड्दै बोलेँ म । 

“परिस्थितिले सिकायो ।”

परिस्थिति ! शब्दमा नबोले पनि मेरा आँखाको जिज्ञासा बुझी सायद, उसको अनुहार गम्भीर देखियो ।

“समयले सबै लुटेर लग्यो मसित, अब त बुबाको प्रतीक्षाबाहेक केही बाँकी छैन ।” उसका उदास आँखा टाढा क्षितिजतिर हेरिरहेका थिए ।

“सानो र सुन्दर परिवार थियो हाम्रो । बुवा गाउँकै विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो । यहीँबाट एसएलसी पास गरेपछि कलेज पढ्न सदरमुकाम गयौँ दाइ र म । बुवा चाहनुहुन्थ्यो हामी पढाइ सकेर गाउँमै फर्कौं, यहीँ आएर पढाऔँ । तर परिस्थिति बुवाले सोचे जस्तो भइदिएन । माओवादी युद्धको प्रभाव गाउँघरमा पर्न थाल्यो । गाउँलेहरू बिस्तारै बसाइँ सर्न थाले । कोही रातारात हराउन थाले । गाउँ असुरक्षित बन्दै गयो । हेर्दाहेर्दै गाउँ युवाविहीन हुन थाल्यो ।

विद्यालयमा बुवालाई दिनहुँ अनेकौँ धम्की आउन थाल्यो, कहिले चन्दा माग्ने तथा कहिले चन्दा दिएको निहुँमा ज्यान मार्ने धम्की आउँथ्यो । विद्यालयबाट संस्कृत शिक्षा हटाउन अनेक दबाब आउँथ्यो तर बुवा डग्नुभएन । उहाँ हामीलाई चिठी लेख्नुहुन्थ्यो एक दिन सबै कुरा ठिक हुने छ, तिमीहरू शिर ठाडो पारेर यही गाउँमा डुल्ने छौ भन्नुहुन्थ्यो । उहाँको आशा र हौसलाले हामी पनि आशावादी हुन्थ्यौँ । आफन्त छिमेकीले जागिर छाड्न र बसाइँ सर्न गरेको अनुरोधलाई उहाँले पटक्कै टेर्नुभएन । एक दिन बुवाले गाउँकै मान्छेका हातमा चिठी पठाउनुभयो । उहाँ देशको परिस्थितिबाट निकै निराश हुनुहुन्थ्यो, बुवामा त्यस्तो निराशा कहिल्यै देखेका थिएनौँ हामीले । बुबाले हामी दुवैलाई अध्ययनका लागि विदेश जान र केही समय गाउँ नफर्कन अनुरोध गर्नुभएको थियो । यहीबिचमा दाइ उच्चशिक्षा अध्ययनका लागि अमेरिका उड्यो । म भने स्नातक गर्दै थिएँ । मलाई आमाबुवालाई गाउँमै छाडेर कतै जान मन लागेन । म चनहन्थेँ पढाइ सकेर यहीँ आएर पढाउन थालूँ । केही दिनपछि आमाले खबर पठाउनुभयो, एक दिन बुवा स्कुलबाट घर आउनुभएन, आमाले कुर्नु भयो रातिसम्म, सोधखोज गर्नुभयो गाउँका केटाकेटीसित । उनीहरूले सर दिनभर स्कुलमै भएको र आपूmहरूलाई पढाएको बताए । भोलिपल्ट गाउँ र स्कुलभरि त्रास फैलियो । दिनभरि पढाएर घर फर्केको बुवा घर आइपुग्नु भएन ।”

लामो सुस्केरा छोडी उसले ।

“अनि ?” मैले उसकै अनुहार हेरिरहेको थिएँ । 

“खबर सुनेर म तुरुन्तै घर आएँ । आमाको बिजोग थियो रोएर । आमालाई यस्तो अवस्थामा एक्लै छाडेर फेरि सहर जान सकिनँ । स्नातकको परीक्षा दिन मात्रै गएँ धेरैपछि । बाँकी समय यहीँ बुवाको प्रतीक्षा गरेर बस्यौँ आमाछोरी ।”

“बुबाको केही खबर आएन ?” काँपेको स्वरमा बिस्तारै सोधेँ । 

“नाइँ ! कोही भन्थे माओवादीले जङ्गलमा लगेर मारिसके चन्दा नदिएको निहुँमा, कोही भन्थे सुराकी गरेको निहँुमा सेनाले मारेर फलिदियो झाडीमा । यस्ता अनेकौँ अनुमानका हल्लाहरू आइरहन्थे तर हामी हरेक साँझ ढोका खुल्लै राखेर कुथ्र्र्यौं बुवा आउने आसमा । मेरो स्नातक सकियो, बाँकीको पढाइ अन्योलमै थियो । यो बिचमा बुवाकै स्कुलमा गएँ तर पढाउनै सकिनँ उहाँकै सम्झनाले । अफिसका भित्तामा सजिएका बुबाका तस्बिरहरूले नराम्ररी बिथोल्थ्यो । सबैको माया र सहानुभूति हुँदाहुँदै पनि मन अडिन सकेन । दाइ पनि यी सबै कुराले अत्यन्तै चिन्तित थियो । दुःखमा परिवारका साथमा हुन नपाएको पीडाबोधले कति छटपटिँदो हो बिचरा ! युद्ध सकियो, देशमा परिवर्तन त आयो तर फर्केर कहिल्यै आउनुभएन बुवा । बुबाकै पीरले बिगँ्रदै गयो आमाको स्वास्थ्य, उपचारका लागि काठमाडौँ लगेँ । शारीरिक रोगको त उपचार भयो तर मानसिक रूपमा झन् झन् गल्दै जानुभयो आमा । आमाको स्वास्थ्य र मेरो पढाइलाई ध्यान दिएर उतै कोठा लिएर बस्यौँ हामी । त्यही व्रmममा त्रिभुवन विश्वविद्यालमा पढ्न थालेकी हुँ । त्रिभुवन विश्वविद्यालमा स्नातकोत्तर गर्ने सपना त पूरा भयो तर त्यो सपना देखाउने मान्छेको अभावमा जीवन शून्य शून्य लाग्थ्यो । हामी उता भए पनि मन भने यतै हुन्थ्यो । आमा हरपल बुवाकै चिन्ता गर्नुहुन्थ्यो । मलाई पनि बुवा आएर घरमा एक्लै हुनुभयो कि जस्तो लाग्थ्यो । यो बिचमा बुवाको खोजीका लागि हरसम्भव प्रयास गरेँ, हरेक निकायको ढोका ढकढक्याएँ ।”

बोल्दाबोल्दै रोकिई ऊ । मैले उसका आँखामा हेर्न सकिनँ ।

“आमा कहिले जानुभयो त ?” सुस्तरी सोधेँ । 

“त्यही मेरो दोस्रो वर्षको अन्तिमतिर !”

“तेरो बुबालाई भेट्न घरै जान्छु, घरमै बसेर बुवालाई कुर्छु भनेर धेरै जिद्दी गर्न थालेपछि आमालाई लिएर आएँ । दाइ अब उतै बस्छ होला, तिमीले अन्तिमसम्म बुवालाई कुर है ! भन्नुहुन्थ्यो । मैले जसरी पनि बुवालाई खोज्छु भनेर झुटो आस्वासन दिन्थेँ । आमालाई गाउँमा छाडेर काठमाडौँ जाने कि नजाने सोच्दै थिएँ आमाले नै सदाका लागि छोडेर जानुभो ।”

उसको आवाज रोकियो बोल्दाबोल्दै । आँखा वर्षिरहेका थिए । बिस्तारै काँधमा हात राखेर थपथपाएँ, मेरो काखमा टाउको अड्याएर वर्षिरही, वर्षौंदेखिको पीडा आँसु बनेर बगोस् भनेर पनि नरोऊ भन्न मन लागेन । चस्मा निकालेर बिस्तारै आफ्नो आँखाको पानी पुछेँ उसले थाहा नपाउने गरी । आफ्नो आँसुले मेरो सर्ट लछप्पै भिजेपछि अलि अप्ठ्यारो मान्दै उठी ऊ । धेरै समयदेखिको वेदना आँसु बनेर बगेर पनि हुन सक्छ अनुहार अलि उज्यालो देखियो ।

“बिहे गरिनौ ?” प्रसङ्गलाई अन्तै मोड्न र वातावरणलाई सहज बनाउन अचानक सोधेँ । रोएका आँखामा थोरै मुस्कान भरेर मलाई एक झुल्को हेरी “बिहे नै जुरेन मेरो त !” निकै सहज भएर जवाफ दिई । 

“त्यस्तो पनि हुन्छ र ?”

“हुने रहेछ ।” छोटो प्रश्नको छोटै उत्तर दिई । 

हातमा लागेको धुलो टकटक्याउँदै बोल्न थाली, “मैले उनलाई यहाँ ल्याएकी थिएँ एक पटक, उनी पनि आज हजुर झैँ हर्षविभोर थिए यहाँको प्राकृतिक सौन्दर्यले ।”

आज ऊ खुब बोल्ने मुडमा थिई सायद, म ज्ञानी श्रोता बनेर सुनिरहेँ, जसरी सुन्थी ऊ कक्षामा मेरो प्रवचन ।

आमा बितेपछि म यहीँ बसेर बुबाको प्रतीक्षा गरेँ । काठमाडौँ गएँ भने बुबा आउनुहुन्छ, एक्लै हुनुहुन्छ, मलाई खोज्नुहुन्छ जस्तो लागेर पनि जान सकिनँ । परीक्षा दिन गएँ घरमै पढेर थेसिस त दुई वर्षपछि बल्ल पूरा गरेँ । 

यता फेरि स्कुल पढाउन सुरु गरेकी थिएँ । बिहेका लागि दबाब नै त थिएन तर म एक्लै भएँ भन्ने पीर गरिरहन्थ्यो दाइ । 

“अनि ?” म विषयमै पस्न चाहन्थेँ । 

फेरि पर क्षितिजतिर हेर्दै बोल्न थाली, “हामी यही डाँडोमा बसेर बिहेको योजना बनायौँ र यहीँ बिहे नगर्ने निर्णय गरेर छुट्टियौँ ।”

“किन नि त्यस्तो ?” जिज्ञासा र आश्चर्य मिश्रित भावमा प्रश्न गरेँ ।

उनी चाहन्थे बिहेपछि म उनीसँगै सहर पसूँ, सहरमै जागिर गरूँ ।

म चाहन्थेँ हामी यहीँ बसौँ । घर, बारी छ, खेत छ, जागिर यहीँ छ, यो गाउँलाई हाम्रो खाँचो छ, कुनै दिन बुबा फर्केर आउनुहुन्छ । मैले यो घर र बुबालाई कुर्नुपर्छ तर उनी मेरो प्रस्तावलाई हाँसेर उडाइदिए । संस्कार, प्रचलन, परम्परा आदिका कुराले मलाई प्रभावित पार्न खोजे ।

मेरो घरमा नयाँ संसार बसाउन उनको संस्कारले रोकेपछि मैले पनि उनलाई बाँधिराख्नु उचित लागेन । हामी फरक बाटोका यात्री रहेछौँ, हाम्रो गन्तव्य अलग रहेछ । यति भन्दा मेरा आँखामा कत्ति आँसु आएन बरु एक प्रकारको हलुङ्गो महसुस भयो; त्यसपछि हामी कहिल्यै भेटिएनौँ । 

यति भन्दा उसका आँखा उज्याला भएका थिए । सायद वर्षौंदेखि मनमा गुम्सिएका कुरा पोख्न पाएर पनि मन हलुङ्गो भएको होला ।

“अब के छ त भविष्यको योजना ?” सोध्दिनँ भन्दाभन्दै अनायासै फुत्कियो । यस पटक मेरा आँखामा आँखा जुधाएर भनी, “बुवाको प्रतीक्षा ! मलाई विश्वास छ एक दिन घर सम्झेर पक्कै बुवा आउनुहुन्छ । यदि हजुर आउनुभएको काम सफल भयो र कलेज खुल्ने भयो भने कलेज पनि पढाउँछु ।”

उसको पछिल्लो अभिव्यक्तिले म झस्केँ । वास्तवमा मैले त आफू यहाँ आउनुको प्रयोजन नै भुलेको रहेछु ।

पश्चिमतिर ढल्किन लागेको सूर्यतर्फ सङ्केत गर्दै भनी, “अब हिँडौँ होला सर ।” मन नलागी नलागी उठेँ दायाँबायाँ हेरेर भनेँ, “यो ठाउँमा बस्नै पुगेन । कलेज खुलेपछि के म एक पटक तिमीलाई भेट्न आउन सक्छु ? हामी यहीँ आएर यसरी नै बस्न सक्छौँ ?” उसले हाँसेर टाउको हल्लाई । “मलाई अर्को वर्षको प्रतीक्षा रहने छ ।” सुस्तरी बोलेँ । 

पश्चिमतिर फर्केर मौन उभिएर मेरो अनुहारमै नहेरी उसले भनी, “सर हजुरले मलाई सम्झनुभएको होला, चिन्नु होला भन्ने  कल्पनै थिएन । अनेकौँ विद्यार्थीका बिचमा पनि एउटा विद्यार्थीलाई यतिका वर्षसम्म कसरी याद गर्न सक्छ एउटा प्रोफेसरले ?”

प्रश्न सोधेर जवाफको प्रतीक्षै नगरी अगाडि बढी, मानौँ उसले आफैँसँग कुरा गरेकी हो । तिमीले छोडेपछि तिम्रो कुर्सी सधैँ खाली रहन्थ्यो, हरेक दिन कक्षामा पुगेपछि पहिलो नजर तिमी बस्ने कुनामा पुग्थे । हरेक वर्ष आउने नयाँ विद्यार्थीहरूमा तिम्रै जस्ता रहस्यमय आँखा र गहिरा प्रश्नहरू खोज्थेँ । साहित्यिक कार्यव्रmममा मञ्चमा उभिँदा पनि दर्शकदीर्घामा तिम्रो अनुहार खोज्थेँ । नामै थाहा नभएकी एउटी केटीलाई फेसबुकका भित्तामा खोज्थेँ, तिमी जस्तो विद्यार्थी जीवनमा एउटा मात्रै भेटिन्छ । जीवनमा भेटिएको यति विशेष मान्छेलाई कसरी बिर्सन सकिन्छ र ! उसलाई सुनाएरै भन्न मन थियो सबै तर मनमै राखेँ ।

डाँडोलाई एक्लै छोडेर ओरालो झर्दा अर्को डाँडोले घामको रातो टीका लगाइसकेको थियो । सोचेँ, दिनभर आफ्नो प्रकाशको साम्राज्य फैलाएर धरती जगमगाउने सूर्यको अहम् चुरचुर हुन्छ केही क्षणमै र दिनलाई प्राप्त हुन्छ यति लामो प्रतीक्षाको परिणति केवल अँध्यारो रात । 

कीर्तिपुर, काठमाडौँ