गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २ गते । नेपाली खाना प्रवर्धन गर्न असार १५ गते राजधानीमा सङ्गीतसहितको ‘भोजनलिपि स्वाद–४’ को आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धन अभियानद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सेफ घनश्याम कँडेलले धान दिवसको अवसर पारेर नेपाली कृषकले उत्पादन गरेका दुधजन्य र हरिया फलफूल, चामललगायतका पदार्थ मिसाएर मौलिक खानाको कलात्मक प्रचारप्रसार गरिने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रियस्तरमा काम गरिसकेका चर्चित सेफ संलग्न भएर नेपाली खानाको प्रवर्धनका लागि योगदान दिने उद्देश्यले यस अगाडि भोजनलिपि स्वाद–३ सम्पन्न भइसकेका छन् । सेफ कँडेलले नेपाल–जापानलगायत विभिन्न देशमा सेफको काम गर्ने क्रममा आफ्नो देशको खानाको प्रचारका लागि अध्ययन, अनुसन्धान गरी पुस्तक लेख्ने र पाककला प्रस्तुत गर्ने सोचका साथ यस अभियानलाई साकार पार्न यहाँ कार्यरत सेफसँगको सहकार्यमा काम गरिरहेको बताउनुभयो । सो अवसरमा उहाँको खानाको परिकारसम्बन्धी पुस्तक ‘टिम्मुर’ सार्वजनिक गरियो । सेफ इङ्वा सुब्बाले भन्नुभयो, “धान दिवसका अवसरमा पाककला अभियानले नेपाली खानाका पारखीलाई मौलिक र फ्युजन खाना खुवाउने जमर्को गर्नु राम्रो कुरा हो ।”
अभियानका संयोजक देवीप्रसाद सापकोटाले देश विदेशमा सेफका रूपमा काम गर्नुभएका सेफले नेपाली खानाको स्वादसहितको कलात्मक प्रस्तुतिका साथ आयोजना गर्दै आएको भोजनलिपि स्वादलाई निरन्तरता दिइरहने बताउनुभयो । सो अवसरमा गायक/सङ्गीतकार मिलन मोक्तानको टोलीले मादल, सारङ्गी र बाँसुरी वादन पनि प्रस्तुत गर्ने जानकारी दिइयो ।