• २१ वैशाख २०८१, शुक्रबार

भूमिस्थ विद्युत् तारको समस्या : माडी चार दिनदेखि अन्धकार

blog

चितवन समाचारदाता

माडी (चितवन), वैशाख ८ गते । चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको भूमिगत विद्युत् पड्किएपछि माडी नगरपालिका चार दिनदेखि अन्धकार भएको छ । बर्सातमा हरेक वर्ष समस्या आउने भूमिगत विद्युत् वितरणमा यस वर्ष वर्षा नलाग्दै समस्या आएको छ । निकुञ्जको कुन क्षेत्रमा समस्या आएको भन्ने पत्ता नलाग्दा मर्मत गर्न कठिन भएको विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो । 

“वैशाखको ३ गते पड्किएपछि मर्मत गरेर सञ्चालनमा ल्याएका थियौँ फेरि ४ गते समस्या आयो । त्यसपछि निरन्तर समाधानका लागि प्रयास गरेका छौँ, सफल भएको छैन,” प्रमुख सापकोटाले भन्नुभयो । गर्मीयाम सुरु भएसँगै बिजुलीको ३३ केभी तार (केबुल) पड्कन सुरु भएको छ । यस्तो समस्या आइरहने प्राविधिकले जानकारी दिएका छन् । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रको टिमले बुधबार र बिहीबार दिनभर तार पड्किएको स्थानको पहिचान गर्न सकेका छैनन् ।

प्रमुख सापकोटाले भन्नुभयो, “शुव्रmबारसम्म समस्या पहिचान भयो भने मर्मत गर्न सकिन्छ, दिनभर जुटेका छौँ तर सकिएको छैन । विद्युत्को वैकल्पिक तारको व्यवस्था नहुँदा सिङ्गल सर्किटको तार मर्मत नसकिँदासम्म माडीवासी अन्धकारमा बस्नुपर्ने बाध्यता छ ।” जङ्गली जनावरबाट बच्दै भूमिगत तार मर्मत गर्न सहज छैन । विद्युत् प्राधिकरणको ‘केबल फल्ट लोकेटर’ सहितको टिमले गैँडालाई धपाउँदै तार पड्किएको स्थानको खोजी गरेको थियो । बिहीबार पुनः पड्किएको स्थानको खोजी गरी मर्मतको काम गर्ने गरी विद्युत् प्राधिकरणको टिम फर्किएको हो ।

चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर सापकोटाले भन्नुभयो, “हामीले फल्ट पत्ता लगाउने कोसिस गरिरहेका छौँ । सबै कुरा भने जस्तो भयो भने शुव्रmबार साँझसम्म लाइन सञ्चालन गर्न सकिएला । फल्ट पत्ता लगाएपछि मर्मत सकेर बिजुली सञ्चालन गर्न कम्तीमा पाँच घण्टा लाग्छ,” उहाँले भन्नुभयो । फल्ट पत्ता लगाउन भूमिगत गरिएको तार काट्दै परीक्षण गरिएको छ । अब एक किलोमिटरभित्रको तार काट्न बाँकी छ । निकुञ्जभित्रको भूमिगत तार पड्किँदा माडीमा पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । तार मर्मत गर्न ढिलाइ हुँदा माडीमा यसअघि १५ दिनसम्म विद्युत् अवरुद्ध भएको थियो । निकुञ्जभित्र थप एउटा सर्किट भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले ठेकेदार छनोट गरेको पनि लामो समय भयो तर पूरक इआइएका लागि वन मन्त्रालयले स्वीकृति नदिँदा वैकल्पिक तार बिछ्याउने काम सुरु हुन सकेको छैन ।

बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रबन्धक मनोजकुमार यादवले भन्नुभयो, “समस्या आएपछि काठमाडौँबाट प्राविधिकको टोली माडी पठाएका छौँ । डबल सर्किटका लागि पूरक एआइए गर्न वन मन्त्रालयको वातावरण महाशाखामा फाइल गएको छ, त्यहाँबाट अगाडि बढेको छैन ।” डबल सर्किटका लागि अगाडि बढेको योजनामा एउटा अतिरिक्तसहित चार वटा केबल हुने छ । तीन वटा केबलले काम नगर्दा एउटै केबलले पनि विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले बताएको छ । पटक पटक बिजुली अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन, उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चार माध्यमलगायत सबै क्षेत्र प्रभावित भएका छन् ।

निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सबप्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रव्रिmया सुरु भए पनि काम सुरु भई नसकेको चनौली वितरण केन्द्रका इन्जिनियर सापकोटाले बताउनुभयो । विद्युत् अवरुद्ध हुँदा माडी नगरपालिका सिङ्गो प्रभावित भएको माडी नगर प्रमुख ताराकाजी महतोले बताउनुभयो । उहाँले यही समस्या लिएर काठमाडौँ पुगेर यस क्षेत्रका सांसद, मन्त्रालय र प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउने तयारी रहेको बताउनुभयो । डबल सर्र्किटको काम सम्पन्न गर्न बाधा भएका विषय फुकाउन पहल गर्ने उहाँले बताउनुभयो । 

पटक पटक विद्युत् अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चार माध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन् । किसानले सिँचाइ गर्न मोटर चलाउन नपाउँदा बाली सुक्खा भएको छ । रामनवमीमा लागेको मेला, अन्य स्थानमा लागेको मेलासमेत प्रभावित भएको नगर प्रमुख महतोले बताउनुभयो ।