• २० वैशाख २०८१, बिहिबार

भाडा नबुझाउने सटरमा ताला

blog

भाडा बुझाउन सटरमा ताला लगाउँदै नेपालगन्ज उपमहानगरपालिकाका टोली । तस्बिर : कमल खत्री

कमल खत्री
नेपालगन्ज, वैशाख ७ गते ।
 नेपालगन्ज उपमहानगरपालिकाले सटरको भाडा बुझाउन अटेरी गर्ने पाँच सटरमा ताला लगाएको छ । पाँच वटा सटरबाट उपमहानगरले करिब २१ लाख ८५ हजार रकम राजस्व उठाउन बाँकी रहेको छ ।

नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, राजश्व शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी, पसलका प्रतिनिधिहरूको उपस्थितिमा सटरमा ताला लगाइएको हो । 

ताला लगाइएका सटर धनीहरूलाई आफूले बुझाउन बाँकी रहेको रकम सात दिन भित्र बुझाउन समय दिएको राजश्व शाखाका अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सटरको राजस्व बुझाउन आनाकानी गर्ने, भाडा नबुझाउने सटरलाई सुरुमा कारबाही गरिएको हो । सात दिन भित्र उहाँहरूले तिर्नुपर्ने राजस्व बुझाउनु भयो भने ताला खोलिन्छ । तर सात दिनभित्र रकम नबुझाएको अवस्थामा नेपाल सरकारको प्रचलित कानुन अनुसार प्रक्रिया अगाडि बढाइन्छ ।’’

नगरपालिकाले निर्माण गरेका सटर भाडा लिएकाहरूले तीन वर्षदेखि उपमहानगरलाई भाडा बुझाएका छैनन् । भाडा नबुझाउने सटरहरूको सङ्ख्या बढ्दै गएपछि उपमहानगरले कडाइ गर्दै गएको छ । यसअघि पनि समयमै भाडा नबुझाउने सटरधनीहरुलाई पटक–पटक पत्राचार गरिए पनि उनीहरूले शुल्क बुझाउन अटेरी गरेको अधिकृत श्रेष्ठको भनाइ छ ।