• २० वैशाख २०८१, बिहिबार

आज दिगाममा उखु महोत्सव हुँदै

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ७ गते । गुल्मीको छत्रकोट गाउँपालिकाको आयोजनामा दिगाममा आज [एक दिन मात्र] उखु महोत्सव हुँदै छ । यस गाउँपालिकाभित्रका कृषकहरूले उत्पादन गरेको उखु खेतीलाई प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यसहित उखु महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

विशेष गरी यो गाउँपालिका सुन्तला उत्पादन र उखु खेतीले परिचित छ । गत वर्ष सुन्तला महोत्सव गरिएको भन्दै उहाँले कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्‍याउन आज उखु महोत्सव गर्न लागिएको बताउनुभयो ।

यस गाउँपालिकाको वडा –१ हुँगा, वडा –३ हर्दिनेटा, वडा –४ दिगाम, वडा –५ खर्ज्याङ उखु पकेट क्षेत्र हुन् । जसमा दिगामका धेरै कृषकहरू उखु खेतीमा लागेका छन् । यहाँका करिब ३०० जना कृषकले उखु खेती गर्दै आएका छन् ।

उखुबाट बनेको खुदो, गुड बेचेर करिब एक करोड रुपियाँको कारोबार हुने गरेको छ । यस गाउँपालिकामा ७० मेट्रिक टन खुदो उत्पादन भएको छ । महोत्सवमा उखुलाई पेल्ने तरिका र गुड खुदो तयार गर्ने तरिकाबारे कृषकले नमुना रूपमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।