• २० वैशाख २०८१, बिहिबार

३८ वर्ष पछि निर्माण भएको विमानस्थलमा उडान शून्य

blog

उद्घाटनका दिनमा आएको विमान सुनथराली विमान स्थल कोटवालामा तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालिकोट, वैशाख ७ गते । कालिकोटको एक मात्र सुनथराली विमान स्थल उद्घाटनमै सीमित भएको छ । शिलान्यास भएको ३८ वर्ष पछि बल्लतल्ल निर्माण सम्पन्न भएको विमानस्थल एक वर्ष पछि औपचारिक रूपमा उद्घाटन भए पनि उडान शून्य भएको छ । 

उद्घाटन सत्रमा बोल्नुहुँदै तत्कालीन मन्त्रीद्धय, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तत्कालका लागि हप्तामा एक दिन उडान भर्ने बताउनु भएको थियो ।

फागुन १४ गते सोमबार मन्त्री मन्त्रीद्धय सुनथराली विमान स्थलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै हप्तामा एक दिन अवश्य उडान भर्ने कार्यपालिका तत्काल बनाउने भने पनि आज सम्म फर्केर हवाईजहाज आएको छैन ।  नरहरीनाथ गाउँपालिका वडा नं १ ज्ञानबहादुर विष्टले कोटवाडा स्थित सुनथराली विमान स्थलमा बोलेको कुरा मन्त्रीद्धय को हावाको बेलुन जस्तै उडेर अलपत्र परेको गुनासो गर्नुभयो । 

स्थानीय बुद्धिजीवी विष्टले विमानस्थल बन्न चार दशक लाग्नु, निर्माण सम्पन्न भएको विमानस्थल औपचारिक उद्घाटन गर्न आठौँ पटक सम्म सूचना गदै स्थगित हुनुमै सङका रहेको भन्दै मन्त्रीको भाषणको पनि आफूलाई विश्वास नलागेको सुनाउनुभयो । नभन्दै आज दुई महिना पुग्न लाग्दा कम्तीमा पनि नौ हप्ता सम्म एउटा पनि हवाईजहाज नआउनु दुखद भएको बताउनुभयो । उसो त साप्ताहिक उडान भर्न समस्या भएमा केही महिना यात्रु नपाएमा उक्त विमानको शुल्क गाउँपालिकाले समेत व्यवस्थापन गर्ने छलफल चलेको थियो । 

तर मन्त्रीहरूले विमान सुचारु भएमा यात्रुको चाप बढ्ने भन्दै सुरुमा हप्तामा एउटा र त्यसपछि बढाउने आश्वासन दिनु भएको थियो । मन्त्री निकट राजनीति दलका स्थानीय नेता अहिले मन्त्री मन्त्रीद्धयको बचाउनका लागि सरकार फेरिनुलाई दोष दिएका छन् । 

नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर विष्टले सबै प्रक्रिया पुरा भए पनि नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएका कारणले रोकिएको बताउनुभयो । अध्यक्ष विष्टले नेपालगन्ज कालिकोट, सुर्खेत कालिकोट र धनगढी कालिकोटको भाडा दर समेत कायम भएको तर प्राधिकरणले अनुमति नदिएका कारणले उडान हुन नसकेको बताउनुभयो । प्राधिकरणले अनुमति दिएमा जुनसुकै कम्पनीका विमानले नेपालगन्ज कालिकोटका लागि प्रति व्यक्ति पाँच हजार ५५१ रुपियाँ तिर्नु पर्ने छ । सुर्खेतबाट आउने यात्रुले तीन हजार ९०१ रुपियाँ र धनगढीबाट कालिकोट आउने यात्रुले पाँच हजार २४९ रुपियाँ भाडा तिर्नु दररेटमा उल्लेख छ । 

तर हवाईजहाज नआउँदा भाडादारको के काम भन्दै स्थानीय आकोषित हुन थालेका छन् । नरहरीनाथ ३ का हीरामणि उपाध्यायले नागरिकलाई सेवा दिन नसक्ने कुनै पनि तहका सरकार जनताका नभएको गुनासो गर्नुभयो । गाउँबाट सुर्खेत नेपालगन्ज सम्म जाँदा उसरी पाँच छ हजार खर्च हुन्छ । हवाईजहाज आउने भए उसैमा गएर उसैमा फर्किने थिए । त्यसले गर्दा पैसा र समयको बचत हुने उपाध्यायको भनाई छ ।