• १८ असार २०८२, बुधबार

मन्त्रालयको जिम्मेवारी टुङ्गो लागेन

blog

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख ७ गते । एक साताभित्रमा मन्त्रालय टुङ्गो लगाउने गरी बिनाविभागीयमन्त्री बन्नुभएका मन्त्री रमा आलेमगरको मन्त्रालयको अझै टुङ्गो लागेको छैन । गत चैत २० गते मन्त्रीपरिषद् विस्तार गर्दा मन्त्री आलेमगरलाई जिम्मेवारी पछि तोकिने गरी मन्त्री पदको पद तथा गोपनीयताको शपथ गराइएको थियो । 

एक साताभित्रमा मन्त्रालय तोक्ने सहमतिसहित बिनाविभागीयमन्त्रीमा नियुक्त भएको दुई साता बितेको छ । नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बन्नुभएका आलेमगरलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेकै दिन नेकपा एमालेबाट पाँच जनालाई मन्त्रालयको जिम्मेवारीसहित मन्त्रीमा नियुक्त गरेपछि उक्त विषय सत्ता गठबन्धनभित्र विवादको विषय बन्दै आएको छ ।

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद खनालले एकै दिन मन्त्रीमा नियुक्त गरिएका कसैलाई मन्त्रालयसहित नियुक्त र कसैलाई जिम्मेवारी पछि तोक्ने गरी नियुक्त गरेकाप्रति असन्तुष्टि जनाउनुभएको थियो । १२ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा बिनाविभागीयसहित १३ जना मन्त्री नियुक्त भएपछि कुनै एक मन्त्रीलाई फिर्ता बोलाउने वा मन्त्रालय टुक्य्राउने भन्ने विवाद सत्ता गठबन्धनका दलहरूबिच चल्दै आएको छ । एकीकृत समाजवादीले मन्त्रालय भागबन्डा लगाउँदा शक्ति सन्तुलन मिलाउनुपर्ने र समान हैसियत भएको मन्त्रालय माग गर्दै आएको छ । उसले सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय पाउनुपर्ने दाबी राखेको छ । 

उता सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले एकीकृत समाजवादीले नै मिलाउनुपर्ने बताउनुभयो । उहाँले कार्यदलमा एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालय दिने बारेमा छलफल भएको भन्दै हाल पाएको मन्त्रालय परिवर्तन गर्न सकिने बताउनुभयो । कसलाई फिर्ता बोलाउने भन्नेबारेमा एकीकृत समाजवादीले नै निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।

उता बिनाविभागीयमन्त्री आलेमगरले मुख्यमन्त्रीले गरेको प्रतिबद्धता अनुसार काम नगरेको बताउनुभयो । उहाँले आफू मन्त्री बन्नुभन्दा जनताको काम गर्न निर्वाचित भएको भन्दै मुख्यमन्त्रीले नै जिम्मेवार भएर उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । एकीकृत समाजवादीबाट हाल बिनाविभागीयसहित कृषि तथा पशुपन्छी विकासमन्त्री र श्रम, रोजगार तथा यातायातमन्त्रीसहित तीन जना मन्त्री छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत चैत १९ गते तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएसँगै भोलिपल्ट बिनाविभागीयसहित छ जना मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिनुभएको थियो । 

एकीकृत समाजवादीका प्रदेश सभा सदस्य वसन्तप्रसाद मानन्धरले भाडबन्डाका बारेमा सत्ता गठबन्धनभित्र सहमति नजिक पुगेको बताउँदै चाँडै टुङ्गो लाग्ने बताउनुभयो । उहाँले पार्टीबाट को कोलाई सरकारमा राख्ने र फिर्ता बोलाउने बारेमा पार्टीको निर्णय भएपछि अहिलेको भागबन्डाको विवाद समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय भागबन्डा लगाउँदा शक्ति सन्तुलन मिलाउनुपर्ने पार्टीको दाबी रहेको छ ।” बिनाविभागीयमन्त्री आलेमगरलाई मुख्यमन्त्रीको कार्यालयमा दुई वटा कोठा दिएर मन्त्रीको कार्यकक्ष बनाइएको छ ।