• ११ जेठ २०८१, शुक्रबार

प्रभावकारी सार्वजनिक नीति

blog

सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलाको विवेकशील र सामयिक व्यवस्थापनसम्बन्धी आवश्यक नीति सार्वजनिक नीति हो । सरकारको कार्यविभाजन अन्तर्गत मन्त्रालयको कार्य विवरणबमोजिम चाहिने उपयुक्त नीति सार्वजनिक नीतिका उदाहरण हुन् । यसमा परराष्ट्र तथा सुरक्षा वा सामरिक नीति पनि समावेश हुन्छन् । समग्रमा सार्वजनिक चासो र सरोकारले सृजित सार्वजनिक हितलाई तार्किक प्रवृत्ति र समयसापेक्ष रूपान्तरण गर्न चाहिने नीतिगत मार्गदर्शन सार्वजनिक नीति हो । सार्वजनिक नीतिको साध्य सार्वजनिक मामिलाको उचित नियमन, नियन्त्रण तथा सन्तुलन राख्दै राजनीतिक समुदाय वा प्रणालीको प्रवर्धन नै हो । सार्वजनिक शासन र प्रशासनको सुसञ्चालनमा अर्जुनदृष्टि समान उद्देश्य, लक्ष्य र ध्येय हासिल गर्न सार्वजनिक नीतिले स्पष्ट सोच, व्यवहार र गतिविधि तय गर्नु पर्छ । सार्वजनिक नीतिमा असल, प्रतिफलदायी र लाभकारी सार्वजनिक व्यवस्थापनसम्बन्धी कार्यक्षेत्रको विषय वा अन्तर्वस्तु साधनको रूपमा व्यक्त हुन्छ । यसमा विगतको पाठ, वर्तमानको आवश्यकता र भविष्यको माग समेटिएका हुन्छन् । 

सार्वजनिक नीति अन्तर्गत नेपालको संविधानमा उल्लेख गरिएको राज्यको निर्देशात्मक सिद्धान्त र नीति मूल स्रोत हुन् । तसर्थ संविधानमा आधारित रहेर विस्तारित वा व्याख्यात्मक नीति तर्जुमा गर्नु पर्छ । विषयगत कार्य क्षेत्रको नीतिसम्बन्धी कानुन निर्माण गरेर सार्वजनिक मामिलामा देखिएका समस्या सम्बोधन, समाधान र समुन्नति प्राप्त गर्न सकिन्छ । सार्वजनिक नीतिबारे आकलझुकल बहस, संवाद र वादविवाद हुने गरेको छ । 

नयाँ तवरको शासकीय र प्रशासनिक संरचना वा सङ्गठनले पनि नेपाल सरकारले बेलाबखत नीतिगत समस्या सामना गर्नु परिरहेको छ । अर्कोतर्फ उपयुक्त उपाय पनि पहिचान गर्न सकिएको छैन । ज्वलन्त उदाहरणमा सेवा प्रदायक संस्था नै सोही क्षेत्रको नियामक हुँदा आचारसंहिताबमोजिम निष्पक्षता, स्वायत्तता र स्वच्छतामा दाग लाग्न सक्छ । सार्वजनिक नीतिको अख्तियारीको सम्बन्धमा अनभिज्ञता हुँदा तदर्थ तथा अल्प निर्णय कतिको प्रभावकारी होला ? विषयगत कार्यक्षेत्रमा उब्जिएका समस्या समाधान तत्कालै होला तर अस्थायी तथा स्थायी सरकारको (निर्वाचित कार्यकारी तथा प्रशासनयन्त्र) रीतिथिति, प्रबन्ध र पद्धतिमा सकारात्मक प्रगति, सुदृढीकरण, नीति पुष्टीकरण र शासकीय तथा प्रशासकीय गतिशीलतामा अड्चन हुने सम्भावना रहन्छ । नेतृत्व र नीतिको कसिलो, दरिलो र भरपर्दो कार्यसम्बन्धले सुशासन, दिगो विकास र जनतामा निहित सार्वभौमसत्ता सम्पन्न स्थिर राजनीतिक प्रणालीले तृणमूलको तहसम्म जरो गाड्छ । आशङ्का, अनुमान र अविश्वासको स्थितिमा आरोप प्रत्यारोपमा समय खर्च भएमा समाजमा सन्तुष्टि, अमनचैन र समृद्धि धेरै टाढा हुन जान्छ । पर्ख र हेरको नीति थेग्दै गर्दा राजनीतिक र प्रशासनिक असन्तुलन, अस्थिरता र अशान्तिले नागरिक, मतदाता र जनतामा अवसादको लक्षण देखा पर्नु स्वाभाविक हो । 

सार्वजनिक नीतिको व्यवस्थापन कदापि बेवास्ता गर्न नहुने वातावरण विकसित हुँदै छ । मानव अधिकार, मानव विकास र मानव सुरक्षालाई सार्वजनिक नीतिमा प्राथमिकताका साथ समावेश गरिन्छ । यसले सर्वाङ्गीण उन्नति, प्रगति र दिगोपनामा जोड दिन्छ । यसले पुराना समस्या र नयाँ थपिएका चुनौतीलाई निराकरण गर्ने कोसिस गर्छ । नवप्रवर्तनले पनि सार्वजनिक नीति झनै परिष्कृत हुँदै जान्छ तर सार्वजनिक नीति कार्यान्वयन नभई नयाँपना दिनु गैरअनुशासनको पराकाष्ठा पनि हुन सक्छ । यस्तो अवस्थामा समग्र नीति संशोधन गर्ने क्रियाकलाप र परिपाटीको अन्त्य गर्न पदीय आचरणमा बस्नु पर्छ । अखबार र सूचनाले मात्र सार्वजनिक नीति तर्जुमा गर्नु गलत तरिका हो । सरकार र प्रशासनले दिनहुँ झेलिरहेका समस्या र सेवा प्रवाहमा आएका भैपरी, नौलो वा गतिविधिमा आएका चुनौतीलगायत प्राप्त तथ्य र तथ्याङ्क विशेष महत्व हुन्छ । पत्रिका र सञ्चार क्षेत्रमा समेटिएका विषयवस्तुभन्दा सरकारी कार्य सम्पादन वा अवधारणामा देखिएका औचित्यता र प्रश्नवाचक सार्वजनिक सेवा तथा वस्तुको गुणस्तरले सार्वजनिक नीति निर्धारण गर्नु वेश हुन्छ । 

सार्वजनिक नीतिको तर्जुमा, विश्लेषण र कार्यान्वयनको उचित उपलब्धि वस्तुनिष्ठ र विषयगत मापन, तालमेल, परिपक्वता र विश्वसनीयताका लागि राजनीतिक तथा प्रशासनिक इच्छाशक्ति अपरिहार्य छ । निराशा, असन्तोष हटाउन सकारात्मक राजनीति र असल नीति अङ्गीकार गरे हल हुन्छ । परिवर्तनलाई आत्मसात् गर्दै परिवर्तन व्यवस्थापनका लागि कार्यशैली र सही सोच अपनाए सूक्ष्म र शीघ्र लाभ हुने बलियो विश्वास पैदा हुन्छ । सात सालअघि आजको यो तरिकाको परिवर्तन अकल्पनीय र अव्यावहारिक हुन्थ्यो तर चौहत्तर वर्ष र एक्काइसौँ शताब्दीमा नयाँ राजनीतिक र प्रशासनिक ढाँचा र सार्वजनिक नीति मन्थनमा आधुनिक औजार वा उपकरण, प्रविधि र वैश्विक गतिशीलतामा पहुँच हुनु राष्ट्रिय र स्थानीय गतिविधि विकसित भएको पक्कै हो ।

सामाजिक प्रतिस्पर्धा, जनमुखी सरकार, मानवअधिकारमैत्री पैरवी, व्यक्तिगत स्वतन्त्रता र उदारवादी लोकतन्त्रको अभ्यास भइरहेको छ । लोकतन्त्रको प्रतिरक्षाका लागि जिम्मेवार व्यक्ति, समाज र राष्ट्रको अन्तरनिहित स्वाभाव बन्ने राजनीतिक यात्रा जारी छ । इतिहासमा उथलपुथल भए पनि सबै पिँढी चाहेर वा अरुचिका साथ प्रगति र उन्नतिको प्रवृत्ति, विकास र प्रयत्नमा जुट्नुको विकल्प छैन । विगतको उतारचढाव, आजको सङ्घर्ष र भोलिको सर्वोत्कृष्टता हासिल गर्ने स्वाभाविक दिशानिर्देश निरन्तर छ ।

व्यक्ति वा नेतृत्व असफल वा अनुत्तीर्ण होला तर आफ्नो भाग्य विधाता ऊ आफैँ हो । भगीरथ प्रयासको सूत्र नै सफलताको शिखर चुम्ने मन्त्र हो । आजबाटै सङ्कल्प, सिद्धान्त र सकारात्मक ऊर्जा लिएर नेतृत्वले कर्म गर्दा नै देशको विकास र समृद्धि हुन्छ । नेपालको शासकीय मामिला र प्रशासकीय गतिविधिले नेपालीको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ । सार्वजनिक नीतिको कार्यान्वयनले सही दिशा लिए यसका अवयवले मानव पुँजी, सामाजिक पुँजी र लोकतान्त्रिक राज्यको स्तरोन्नति हुँदै जान्छ ।   

Author

राजीव कुँवर