• १९ वैशाख २०८१, बुधबार

बझाङ (क)को उपनिर्वाचन : मतदाता फकाउन उम्मेदवार गाउँगाउँमा

blog

शैलेन्द्र रोकाया
बझाङ, वैशाख ६ गते ।
बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरु गाउँ–गाउँ पुगेर मतदातासँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्न थालेका छन् । आफ्नो पक्षमा मत जुटाउनका लागि राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।

निर्वाचन हुने करिब नौ दिनमात्र बाँकी रहँदा दलहरुलाई अहिले भ्याइनभ्याई छ । आफ्नो पक्षमा जनमत सङ्कलन गर्न दलहरुले विभिन्न रणनीतिका साथ गाउँ–गाउँ पुगेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो ।

नेपाली कांग्रेसका उम्मेदवार तथा स्वर्गीय मन्त्री सिंहका छोरा अभिषेकबहादुर सिंहले प्रचारप्रसारलाई तीव्र पार्नुभएको छ । उहाँले गाउँ–गाउँमा गएर विकासका एजेण्डाका साथ आफ्ना बुबाले गर्न नसकेका कामलाई निरन्तरता दिनेमा जोड दिनुभएको छ । उहाँको टोलीमा देउडा गायक नन्दकृष्ण जोशीले गाउँगाउँमा देउडा गाएर भोट मागिरहेको छ ।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार दमन भण्डारीलाई समेत निर्वाचनको प्रचार प्रसारमा भ्याइनभ्याई छ । एमाले समेत गाउँ–गाउँमा आफ्ना एजेण्डाहरुसहित मतदाता  रिझाइरहेका छन् ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनक बुढा, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दिलबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार किशोर खड्कालगायतका नेताहरु प्रचारप्रसारमा व्यस्त छन् ।

यो पटकको उपनिर्वाचन भने अलि रोचक हुने अनुमान गरिएको छ । जिल्लामा राम्रो प्रभाव राख्ने स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंह युवाहरुका बिचमा निकै लोकप्रिय छन् भने यता एमालेका जिल्ला अध्यक्षसमेत रहेका दमन भण्डारी एमालेको यो क्षेत्रमा सङ्गठन राम्रो भएका कारण बाजी मार्ने दाउमा हुनुहुन्छ ।

त्यस्तै संविधान सभा सदस्य तथा माओवादी नेता जनक बुढा जिल्लाका प्रभावशाली नेता हुन माओवादीको सङ्गठन कमजोर भएपछि व्यावहारिक मत पाउने आशामा हुनुहुन्छ । एमाले उम्मेदवार भण्डारी र माओवादी उम्मेदवार बुढा छबिसपाथीभेरा गाउँपालिकाका  स्थानीय भएकाले मत विभाजन हुने आशङ्का गरिएको छ । नेकपा एकीकृत समाजवादीका नेता तथा सङ्घीय  मामिला तथा समान्य प्रशासन मन्त्री भानुभक्त जोशी त्यसै पालिकाको स्थानीय भएकाले समाजवादीको सो गाउँपालिकामा राम्रो प्रभाव छ । त्यस्तै नेकपा एमालेका पूर्व पार्टी अध्यक्ष समेत रहेका नेकपा एसका उम्मेदवार दिलबहादुर सिंह आफू चुनाव जित्ने दाउमा छन् ।

कांग्रेस उम्मेदवार अभिषेक सिंह र नेकपा एसका उम्मेदवार दिलबहादुर सिंह जयपृथ्वी नगरपालिकाको एउटै वडाका स्थानीयवासी हुनुहुन्छ । एमालेको  राम्रो प्रभाव भएको जयपृथ्वी नगरपालिकामा समाजवादीका उम्मेदवार सिंहले मत काट्ने आङ्कलन गरिएको छ । गएको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाउनुभएको थियो ।

यो पटकको उपनिर्वाचनमा सबै दल छुट्टाछुट्टै निर्वाचनमा होमिएपछि त्यसको प्रत्यक्ष फाइदा भने कांग्रेसलाई हुने भएको छ । समाजवादीका उम्मेदवार दिल बहादुर सिंहले एमाले उम्मेदवार भण्डारीको मत कटाउने हल्ला व्यापक छ । दिलबहादुर सिंह एमाले भित्रको पुरानो र प्रभावशाली मानिन्थे । कांग्रेस उम्मेदवार अभिषेक सिंहप्रति जिल्लाभित्र नै एक खालको सहानुभूति छ । सवारी दुर्घटनामा आमा बुवा गुमाएका सिंह अहिले सेतो लुगामा निर्वाचनमा होमिएकाले उहाँप्रति सहानुभूति मत पाउने अनुमान गरिएको छ ।

२०४८ यता यो क्षेत्रमा चार पटक एमाले र तीन पटक कांग्रेसले विजय हासिल गरेको थियो । सत्यवादी माविका प्रधानाध्यापक खगेन्द्र जोशीले भन्नुभयो, “मन्त्रीको निधनपछि उहाँका छोरालाई टिकट दिएकाले उहाँप्रति सहानुभूति देखिन्छ तर परिणाम के हुन्छ भन्न नसकिने अवस्था छ ।” सात वटा स्थानीय तह भएको यो निर्वाचन क्षेत्रमा चार वटा गाउँपालिकामा कांग्रेस विजयी भएको छ भने एक वटामा माओवादी र दुई वटामा एमाले विजयी छन् ।