• १८ वैशाख २०८१, मङ्गलबार

मिलन र डकेन्द्रलाई लेखा कार्यालयको स्पष्टीकरण

blog

मिलन लिम्बू र डकेन्द्रसिंह थेगिम ।

कोकिला ढकाल 

इलाम, वैशाख ५ गते  । इलाम–२ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार योङहाङ्ग लिम्बू र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले स्पष्टीकरण सोधेको छ । 

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रहनुभएका कोष तथा लेखा नियन्त्रण प्रमुख राजेन्द्र आचार्यले स्पष्टीकरण सोध्नु भएको हो । रास्वपा उम्मेदवार मिलनले निर्वाचन प्रचार–प्रसार गर्दा मापदण्ड विपरीत ठुला ब्यानर, फोटो स्टेन्ड बनाइ टाँस गरेको उजुरी परेको थियो । 

उजुरीमाथि छानबिन र अनुगमन गर्दा अवस्था त्यस्तै पाइएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत आचार्यले बताउनुभयो । स्पष्टीकरणमा ‘निर्वाचनसम्बन्धी कानुन विपरीत काम भएकाले ती प्रचार सामग्री अविलम्ब हटाउन भनिएको छ । अन्यथा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन आचारसंहिता २०७९ (पहिलो संशोधन) को परिच्छेद ४ दफा १३ र निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ बमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नुपर्ने कारण र प्रमाण भएमा स्पष्टीकरण प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेस गर्नुहुन जानकारी गराइन्छ’  भनिएको छ । 

यस्तै, पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको नयाँ वर्ष २०८१ मा दिएको शुभकामना र मत मागेको भिडियोलाई तोडमोड गरी सामाजिक सञ्जालमा पोष्ट गरेको उजुरी परेको थियो । सो विषयमा थेगिमसँग स्पष्टीकरण सोधिएको छ ।

“थेगिमविरुद्ध परेको उजुरीमाथि छानबिन र अनुगमन गर्दा उक्त कार्य तपाईँले गरेको होइन वा तपाईँबाट भएको होइन भन्ने कुनै प्रमाण भेटिएन” स्पष्टीकरणमा भनिएको छ । 

स्पष्टीकरणमा ‘निर्वाचनसम्बन्धी कानुनविपरित काम भएकाले ती प्रचार सामग्री सामाजिक सञ्जालबाट अविलम्ब हटाउन भनिएको छ । अन्यथा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन आचारसंहिता २०७९ (पहिलो संशोधन) को परिच्छेद ४ दफा १३ र निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ बमोजिम किन कारबाही नगर्ने, कारबाही नगर्नुपर्ने कारण र प्रमाण भएमा स्पष्टीकरण प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ पेस गर्नुहुन जानकारी गराइन्छ’ भनिएको छ ।