• १८ वैशाख २०८१, मङ्गलबार

सांस्कृतिक र आध्यात्मिक जागरणमा महायज्ञले टेवा पुग्छ : उपराष्ट्रपति यादव

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव ।

सिरहा, वैशाख ५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिराहा र यस क्षेत्र वरपरका स्थानीय बासिन्दाहरूमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक जागरण पैदा गर्न महायज्ञ महोत्सवबाट टेवा पुग्ने बताउनुभएको छ ।

उहाँले मधेश प्रदेशको सिराहा नगरपालिका–१४, खिरौना नवटोलीमा श्री रामजानकी महायज्ञ समितिद्वारा आयोजित ‘श्री श्री १०८ श्री रामजानकी महायज्ञ महोत्सव’ को बुधबार समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उक्त कुरा बताउनुभएको  हो ।

उहाँले महायज्ञबाट सम्पूर्ण आम नागरिकमा आन्तरिक आध्यात्मिक चिन्तनको प्रस्फुटन गर्दै परस्पर मैत्रीभाव, अपनत्वभाव, भाइचारा, मेलमिलाप र भ्रातृत्वभाव पनि बढ्ने जानकारी दिनुभयो ।

‘‘महायज्ञ, धार्मिक अनुष्ठानलगायतबाट मानव जीवनमा प्रादुर्भाव हुने अलौकिक अध्यात्म शक्ति तथा धार्मिक चिन्तनले व्यक्तिलाई सही र असल मार्गमा डोर्‍याउन सघाउँदछ । यसले व्यक्तिलाई सबै मानिस र जीव–जन्तुलाई समान दृष्टिकोणले बुझ्न र सम्मान गर्न पनि सहयोग पुग्ने गर्दछ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘यी र यस्ता महायज्ञहरूले व्यक्तिलाई भौतिक वस्तुहरूप्रतिको मोह भङ्ग गराउँदै असीम शान्तिको मार्गमा हिँड्ने आध्यात्मिक सोचको विकास पनि गराउँदछ । महायज्ञ आफैमा एउटा सांस्कृतिक र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतालाई बढवा दिने अनुष्ठान हो । यसले व्यक्तिलाई नाम, दाम र लोकप्रियता गौण विषय हो भन्ने तथ्य बुझ्न पनि मद्दत गर्दछ ।’’

उहाँले द्रुत प्राविधिक विकास र सामाजिक परिवर्तनको यो युगमा, विश्वले शान्ति सङ्कटको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै वैज्ञानिक प्रविधिहरूले हामीलाई एकआपसमा नजिक ल्याएपनि आजको मानव सभ्यता चिन्ता, अवसाद जस्ता मनोविक्षिप्तता र अनेकौँ जटिल मनोविकृतिबाट सिर्जित समस्याहरूसँग लड्न बाध्य पनि बनाएको बताउनु भयो ।

‘‘यसले हाम्रो जीवन ऊर्जाको क्षयीकरण हुने गर्दछ । अझ व्यस्त जीवनशैलीले मानिसलाई असन्तुलनको अवस्थामा पुर्‍याइ दिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यस्तो अवस्थामा महायज्ञ जस्तो धार्मिक अनुष्ठानको उपादेयता झनै बढी हुने गर्दछ ।’’

उपराष्ट्रपति यादवले महायज्ञको भौतिक र आध्यात्मिक महत्त्व रहेको उल्लेख गर्नुहुँदै यज्ञको ऊष्माले मानिसको अन्तः करणमा देवत्वको छाप छाड्न सक्ने बताउनु बताउनुभयो । ‘‘भनिन्छ, जहाँ यज्ञको आयोजना गरिन्छ त्यहाँको भूमि र प्रदेश सुसंस्कारहरूको छापलाई आफूभित्र धारण गर्न पुग्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘यज्ञमा गुन्जिने जय जयकार ध्वनिले हाम्रो मनोभूमिलाई उच्च सुविकसित एवं सुसंस्कारी पनि बनाउँदछ ।’’

उहाँले कुबुद्धि, कुविचार, दुर्गुण तथा दुष्कर्महरूले युक्त व्यक्तिहरूको मनोभूमिमा पनि यज्ञले व्यापक सुधार ल्याउन सहयोगी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । ‘‘त्यसैले यज्ञलाई त्यागमय जीवनको आदर्शको प्रतीक पनि मानिएको छ । इदन्न मम–(यो मेरो होइन सम्पूर्ण समाजको हो) भन्ने भावना सिङ्गो मानव जातिमा विकास गराउन उत्प्रेरित गर्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसले हाम्रो सनातन आध्यात्मिक समाजवादलाई जीवन्त बनाउनमा सघाउँदछ ।’’

यज्ञको अर्को महत्त्वपूर्ण पाटो भनेको यो सामूहिकताको प्रतीक पनि भएको उल्लेख गर्दै अगाडि भन्नुभयो, ‘‘अन्य उपासना, अनुष्ठान र धार्मिक प्रक्रियाहरू एक्लो पनि गर्न सकिन्छ । तर, यज्ञ/महायज्ञ यस्तो कार्य हो, जसमा बढी भन्दा बढी मानिसको सहयोग आवश्यकता पर्दछ । त्यसैले यज्ञ आयोजनलाई सामूहिकता, सहकारिता र एकताको भाव विकसित गराउने उपर्युक्त माध्यम पनि भनिएको हो ।’’

उपराष्ट्रपति यादवले समाजमा विद्यमान गरिबी, सामाजिक विकृति, एक्लोपन र तनावग्रस्त जीवनशैलीले आफूलाई नै सिद्ध्याउने जस्तो नकारात्मकताले हामीलाई गम्भीर रूपमा गाँजेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले सबै क्षेत्र, वर्ग, उमेर, समूह र समुदायका युवाहरूद्वारा नेतृत्व गर्दै यो भेगमा धार्मिक पर्यटनको विकास तथा सामाजिक, धार्मिक संस्कार, परस्पर भाइचारा, ‘बसुदैव कुटुम्बकम’ को सन्देश सञ्चार हुने गरी जुन कार्य भइरहेको छ, त्यो प्रशंसनीय रहेको बताउनुभयो ।