• १९ वैशाख २०८१, बुधबार

सुदूरपश्चिमका सिमानाका शुक्रबारसम्म बन्द

blog

बैतडी, वैशाख ५ गते । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सिमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।

भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सिमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । “यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ”, उहाँले भन्नुभयो, “उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मङ्गलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।”

उक्त अवधिमा सिमानाकामा पूर्णरुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताउनुभयो । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उहाँको भनाइ छ । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन् । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ । रासस