• १० जेठ २०८१, बिहिबार

दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

blog

दाङ, वैशाख ५ गते । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगरले दिनुभएको जानकारीअनुसार  तुलसीपुर उपमहानगरपालिका-४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका-२ का २२ वर्षीय चित्रा पुन, निजका ६ वर्षीय छोरा रमेश पुन मगर र तुलसीपुर-१९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो । 

चारै जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य १० जना घाइतेको थारमारे प्राथमिक केन्द्र तथा स्थानीय पोलिक क्लिनिकमा उपचार भइरहेको छ । 

दाङको घोराहीबाट पूर्वी रुकुमतर्फ गइरहेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२ ठिङबाङ खोलामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी २२ जना घाइते भएका थिए । घाइतेमध्ये आठ जनाको अवस्था सामान्य रहेकाले दुर्घटनालगत्तै उनीहरू घर फर्किसकेकाले सल्यान प्रहरीले यसअघि १४ जना घाइते भएको विवरण सार्वजनिक गरेको थियो । बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । रासस