• १९ वैशाख २०८१, बुधबार

६१२ जनालाई हिमाल आरोहण अनुमति

blog

काठमाडौँ, वैशाख ५ गते । वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १३४ महिला र ४७८ जना पुरुष छन् । 

विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथासहित विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये सबैभन्दा बढी सगरमाथा आरोहण गर्न ४६ देशका २७४ आरोहीले अनुमति लिएका छन् । 

उहाँले भन्नुभयो, “आरोहणको सिजन सुरु भएसँगै अनुमति लिने र धमाधम आधार शिविरतर्फ जाने आरोहीको सङ्ख्या बढ्दै गएको छ । वसन्तयाममा सगरमाथा आरोहणका लागि उपयुक्त मानिने भएकाले अनुमति लिनेमा सबैभन्दा धेरै सगरमाथातर्फ नै छन् ।”

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका थिए । उहाँले यस पटक चीनतर्फको मोहडाबाट समेत सगरमाथा आरोहण खुला गरिएकाले केही आरोही घट्न सक्ने आकलन गर्नुभयो ।

यस पटक सगरमाथा आरोहणका लागि २२१ पुरुष र ५३ जना महिलाले अनुमति लिएको उहाँले बताउनुभयो । सगरमाथा आरोहणका लागि यस पटक सबैभन्दा बढी अमेरिकाबाट ५९, चीनबाट ३८, जापानबाट १९, भारतबाट १७, रसियाबाट १६ र बेलायतबाट १५ जनाले अनुमति लिएका छन् ।

सगरमाथापछि सबैभन्दा बढी अमादब्लम आरोहणका लागि सात समूहका ६३ पुरुष र १७ महिला गरी ८० जनाले अनुमति लिएका छन् । त्यसै गरी मकालु पहिलोका लागि ४५, लोत्सेका लागि ४०, अन्नपूर्ण पहिलोका लागि २५ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ३९ करोड १२ लाख ८५ हजार ८८७ रुपियाँ हिमाली दस्तुर (राजस्व) प्राप्त भएको छ । त्यस्तै २३ वटै हिमालमा दिएको अनुमतिबापत ४३ करोड ७८ लाख ७५ हजार ५९ रुपियाँ राजस्व सङ्कलन भएको छ । 

आरोहणको सिजन सुरु भएसँगै सगरमाथा, अमादब्लम, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से, अमादब्लम, जुगललगायत हिमालका आधार शिविर आरोहीले भरिभराउ हुन थालेका छन् ।