• २३ असार २०८१, आइतबार

रेडपान्डा अध्ययन केन्द्र निर्माण

blog

देउरालीमा निर्माण गरिएको रेडपान्डा अध्ययन केन्द्र भवन ।

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, वैशाख ५ गते ।  ताप्लेजुङको पर्यटकीय क्षेत्र सुकेटार नजिक देउरालीमा रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको छ । फुङ्लिङ नगरपालिका–९, हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाको अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको हो । जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । राईका अनुसार अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनाका लागि कुल एक करोड ५७ लाख रुपियाँको लागतमा भवनसहितका संरचना निर्माण गरिएको छ । 

मञ्चको सहजीकरण र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना निर्माण गरिएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार वातावरणमैत्री संरचना भएकाले जैविक निर्माण सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनी एसएनपीका आयोजना सुपरभाइजर अमृत भट्टराईका अनुसार संरचना निर्माणमा वातावरणमैत्री कच्चा पदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको छ । 

भट्टराईले गोबर, खरानी, अन्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर (मिश्रण) स्रोत केन्द्र निर्माण कार्यमा प्रयोग गरिएको बताउनुभयो । उल्लेखित निर्माणसामग्री प्रयोगले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकूूलित प्रकृतिको हुने पनि उहाँले बताउनुभयो । अहिले भवन निर्माणको कार्य करिब ९९ प्रतिशत सम्पन्न भएको र चाँडै सञ्चालनमा आउने बताइएको छ ।

यता केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास राखिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताउनुभयो । 

स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवर्धन, सदुपयोगसहित पर्यटन प्रवर्धन गरी उपभोक्ता समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको शेर्पाले बताउनुभयो । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनी स्थलका रूपमा विकास गर्ने योजना रहेकोस उहाँको भनाइ छ ।