• १७ असार २०८१, सोमबार

किसानद्वारा चिनी निर्यातमा रोक

blog

तस्बिर : जनार्जन खत्री महालक्ष्मी चिनी उद्योग ।

सर्लाही समाचारदाता

सर्लाही, वैशाख ५ गते ।  सर्लाहीका उखु किसानले गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहबाट चिनी निकासीमा रोक लगाएका छन् ।  उद्योगलाई दुई महिनाअघि बिक्री गरेको उखुको पैसा नदिएको तर चिनी भने बजारमा लगेर बिक्री गरिरहेको भन्दै किसानले चिनी निर्यातमा रोक लगाएका हुन् । आफूले बेचेको उखुको पैसा भुक्तानी नगरेसम्म उद्योगको उत्पादन बाहिर लान नदिने किसानको अडान छ । 

चिनी उद्योगले काठमाडौँ लाग्नका लागि लोड गरिएको ट्रक किसानले रोकेपछि सो चिनी पुनः गोदाममै राखिएको छ । उखु किसान रामदिनेश यादवले सम्झौताअनुसार उखुको भुक्तानी नदिएपछि चिनी उद्योगविरुद्ध आन्दोलनमा उत्रनु परेको बताउनुभयो । उद्योगले चिनी खुरुखुरु बिक्री गरिरहेको तर किसानको रकम भुक्तानी गरेको छैन । किसानले उद्योगबाट १८ लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको बताएका छन् । 

महालक्ष्मी चिनी उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले ९० प्रतिशत किसानको भुक्तानी गरिसकेको र बाँकी किसानलाई भने क्रमैसँग भुक्तानी गर्ने बताउनुभएको छ । उद्योगपति कनौडियाले किसानको नाममा केही दलाल प्रवृत्तिका व्यक्तिले उद्योगमा आएर अनावश्यक दुःख दिइरहेको गुनासो गर्नुभयो । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये यो वर्ष इन्दुशङ्कर चिनी उद्योग हरिवन र अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानीबारे यो वर्ष गुनासो आएको छैन । उखु किसानले यो वर्ष पनि सरकारी अनुदान रकम भने अझै नपाएको गुनासो गरेका छन् । उद्योगी र सरकार दुवै पक्षबाट बेलैमा भुक्तानी नपाउँदा उखु किसान आजित भइरहेका छन् ।