• २३ वैशाख २०८१, आइतबार

जनमत पार्टीको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित

blog

नाराबाजीसाथ रोष्टम घेराउ गर्दै जनमत पार्टीका सांसदहरु । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, वैशाख ४ गते  ।
चौथो पटक विश्वासको मतका लागि बोलाएको मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सभाको कार्य प्रारम्भमै जनमत पार्टीले अवरोध गरेपछि प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गर्नुभएको थियो । सभामुखले बैठक सुरू गर्न लाग्दा जनमत पार्टीका सांसद चन्दन सिंहले २०८० माघ ८ गते सप्तरीमा कृषि विश्वविद्यालयको उद्घाटन कार्यक्रमको क्रममा जनमत पार्टीका सांसद तथा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवसहित सांसदमाथि गरिएको आक्रमण छानबिन अहिलेसम्म नगरेको र विगतमा सरकारले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै सभाको बैठक बहिष्कार गर्नुपर्ने बताउनुभएको थियो ।

त्यस लगत्तै नेकपा (एमाले)का सांसद दीपेन्द्र ठाकुरले उक्त घटना व्यक्तिगत भएको भनेपछि जनमत र नेपाली कांग्रेसका सांसदहरुले कडा रुपमा प्रतिवाद गर्दा होहल्ला भएको थियो । लगत्तै जनमतका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको छ  ।

मुख्यमन्त्री यादवले गत फागुन ६ गते तेस्रो पटक विश्वासको मत प्राप्त गर्ने क्रममा सो घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गर्नुभएको थियो ।