• १९ वैशाख २०८१, बुधबार

महोत्तरीका ७१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

blog

बालबालिकालाई भिटामिन ए खुवाउँदै स्थानीय स्वास्थ्य स्वयंसेविका । फाइल तस्बिर ।

रवीन्द्र उप्रेती

बर्दीबास, वैशाख ४ गते । स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । कुपोषणले आक्रान्त महोत्तरीमा यो कार्यक्रमलाई प्रभावकारी बनाउन सवैसँग सहयोग र सहकार्यका लागि आग्रह गरिएको छ । 

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत महोत्तरीका ६ देखि ५९ महिना उमेर समुहका ७१ हजार ८७२ जना बालबालिकालाई भिटामिन ‘ए’ ख्वाउन लागिएको स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहले जनाउनुभयो ।

कार्यक्रमबारे जानकारी दिन कार्यालयले मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले जिल्लाका १५ वटै स्थानीय तहहरुको सहकार्यमा भिटामिन ‘ए’ का साथै १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी ख्वाउन जिल्लाभर यसको तयारी गरिएको बताउनुभयो । 

भिटामिन ‘ए’ र जुकाको औषधी ख्वाउन आएकामध्ये यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा पठाई खोप लगाउने व्यवस्था पनि मिलाइएको छ । यसका लागि स्थानीय तहहरुले सबै वडा र पाएक पर्ने स्थानमा स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने जनाएका छन् । 

बर्दीबास नगरपालिकाको १४ वटा वडाका ७ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी ख्वाउन ७२ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको नगर स्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जनाउनुभयो ।